दोलखाका १९ विद्यालयमा ई–लाइब्रेरी स्थापना गरिने

 आवाज संवाददाता     २२ फाल्गुन २०७३, आईतवार

दोलखा, फागुन, २२/नेपाल लाइब्रेरी फाउण्डेसनको सहयोग तथा संयोजनमा दोलखाका विभिन्न १९ वटा विद्यालयमा ई–लाइब्रेरी स्थापना गरिने भएको छ ।
नेपाल लाइब्रेरी फाउण्डेशन, दोलखा जापान समाज र म्याग्दी प्रवासी नेपाली समाजको संयुक्त सहयोगमा दोलखाका १९ विद्यालयमा ई–लाइब्रेरी स्थापना गर्न थालिएको नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य कपिलदेव थापाले जानकारी दिए ।
ई–लाइब्रेरी स्थापनाका लागि सदरमुकामस्थित कालिन्चोक मावि, भीमेश्वर नगरपालिका १२ को कुटीडाँडा मावि र भीमेश्वर नगरपालिका १० को महाङ्काल प्रावि छानिएका छन् । यी विद्यालयका लागि दोलखा जापान समाजका अध्यक्ष नवराज थापाले सहयोग गरेका छन् । त्यसैगरी कालिनाग मावि, सुनखानी, कालिनाग बहुमुखी क्याम्पस, सुनखानी, क्षमावती मावि, सुस्पाक्षमाती र सित्का मावि, सुनखानी पनि ई–लाइब्रेरीका लागि छानिएका छन् । यी विद्यालयका लागि म्याग्दी घर भै न्युजिल्याण्डमा कार्यरत चक्र बहादुर थापाले सहयोग गरेका छन् ।
फाउण्डेशनले गत वर्षको भूकम्पबाट क्षतिग्रस्त भएको सुन्द्रावती निमावि भवनसमेत बनाइदिने भएको छ । ५० लाखको लागतमा निर्माण हुने सो भवनका लागि क्यानाडामा कार्यरत प्राध्यापक नरेश कोइरालाले ४० लाख रुपैयाँ सहयोग गरेको फाउण्डेशनका अध्यक्ष थापाले जानकारी दिए । यसका साथै सो विद्यालयमा फाउण्डेशनको सहयोगमा सामुदायिक स्रोत पुस्तकालय र ई–लाइब्रेरीसमेत स्थापना गरिने उनले बताए । फाउण्डेशनले लापिलाङ मावि, लापिलाङमा पनि परम्परागत पुस्तकालय र ई–लाइब्रेरी स्थापना गर्ने लक्ष्य रहेको फाउण्डेशनका कार्यक्रम निर्देशक धनकुमार श्रेष्ठले बताए ।
जिल्लाका १० वटा विद्यालय छनोटका लागि फाउण्डेशनले जिल्ला शिक्षा कार्यालयको सहयोग मागेको छ । जिल्ला शिक्षा कार्यालयले छनोट गरेका विद्यालयमा ई–लाइब्रेरी स्थापना गरिनेछ । ई–लाइब्रेरी स्थापनाका लागि विद्यालयहरुले आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ । त्यसका लागि विजुलीको पहुँच, कम्प्युटर सेटहरु, नेटवर्किङ सहित राउटरको व्यवस्था विद्यालयले गर्नुपर्नेछ । ७५ हजार रुपैयाँ पर्ने सर्भर फाउण्डेशनले निशुल्क व्यवस्था गर्नेछ । सर्भरको सहायताले नेटवर्किङमा रहेको कम्प्युटरबाट शिक्षक तथा विद्यार्थीहरुले पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरु पढ्न, हेर्न र सुन्न सक्नेछन् । सिमुलेशन, विभिन्न अभ्यासहरु, शव्दकोष, विकीपिडिया तथा विभिन्न क्रियाकलापले विद्यार्थी तथा शिक्षकहरुलाई सिक्न सिकाउन सघाउ पु¥याउँछ । यसका साथै राउटरको करिब एकसय मिटर वरपर ल्यापटप, एन्ड्रोएड मोबाइलमार्फत शिक्षक तथा विद्यार्थीहरुले अफलाइन रुपमा ई–लाइब्रेरीको उपयोग गर्न सक्नेछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।