अपडेट : सप्तरीमा मृतकको संख्या ३ पुग्यो

 आवाज संवाददाता     २३ फाल्गुन २०७३, सोमबार

काठमाडौं फागुन २३– एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको  छ ।

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ ।

त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दिगम्बर यादव रहेको छ भने अर्का एक जनाको नाम खुल्न बाँकी छ ।

मृतकको एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ ।

उनीरुलाई राजविराज फिर्ता ल्याइएको छ ।

‘घाइते मध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइँदैछ,’ मोर्चाका एक स्थानीय नेताले भने ।

यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले आफूलाई एक जनाको मृत्यु भएको खबर आएको र विस्तृतमा बुझ्दै गरेको बताएका थिए ।  अहिले उनको मोबाइल स्वीच अफ रहेको छ ।

मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।

रातोपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।