ब्रिटेनमा पुन: जनमत संग्रहको माग, देश नै टुक्रिने खतरा

 आवाज संवाददाता     ११ असार २०७३, शनिबार

एजेन्सी । युरोपियन युनियनबाट बाहिरिने ब्रिटेनको निर्णयले पूरै युरोप हल्लिएको छ । जनमत संग्रहको नतिजा अपेक्षाविपरित आयो । सर्भेहरु गलत सावित भए । यससँगै अब ब्रिटेन नै टुक्रिने खतरा बढेको छ । स्कटल्याण्ड र आयरल्याण्डले युकेबाट अलग हुने इसारा गरिसकेका छन् ।

 

किन भयो जनमत संग्रह ?

स्मरण रहोस्, युनाइटेड किङ्गडम (युके) लाई नै ग्रेट ब्रिटेन या ब्रिटेन भनिन्छ । यसमा इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र पूर्वी आयरल्याण्डसामेल छन् ।

युकेमा लामो समयदेखि एक पक्षले आवाज उठाउँदै आएको थियो कि युनियनमा सामेल हुनाले आफ्नो देशको अर्थतन्त्र र विदेश नीतिमा स्वतन्त्र ढंगले निर्णय गर्न अवरोध पुगिरहेको छ । प्रजातन्त्रमाथि असर परेको छ । ब्रेक्सिटको पक्षमा वकालत गर्दै आएकाहरुले ईयुबाट अलग भएमा इमिग्रेशन पोलिसीमा स्वतन्त्र ढंगले निर्णय गर्न सकिने बताउँदै आएका थिए ।

 

यसैक्रममा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुने क्रममा डेभिड क्यामरनले यस विषयमा जनमत संग्रह गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुरुप भएको जनमत संग्रहमा ईयुबाट अलग हुने पक्षमा करिब ५२ र त्यसको विपक्षमा ४८ प्रतिशत मत पर्‍यो । अधि‌कांश युवाहरु ईयुमा रहने पक्षमा थिए । तर, पौढ तथा वृद्धहरुको एकतर्फी भोटिङले अलग हुने फैसला गर्‍यो ।
फेरि जनमत संग्रहको माग

युकेमा फेरि जनमत संग्रहको माग जोडतोडका साथ उठेको छ । मत परिणाम आएको केही घण्टाभित्रै अनलाइनमार्फत ७७ हजार नागरिकले हस्ताक्षर गरेर पुन: जनमत संग्रह गर्न माग गरेका छन् ।

करिब ४ प्रतिशत मतको बलमा ५२ प्रतिशतले ४८ प्रतिशतमाथि विचार लाद्न नसक्ने उनीहरुको तर्क छ । फेरी जनमत संग्रह गर्नु पर्ने भन्दै अभियान चलाएको अर्गनाइजेसनको वेबसाइट अत्याधिक लोडका कारण केही घण्टामै क्रयाश भएको  थियो ।

ब्रिटेन टुक्रिने खतरा

ईयुबाट अलग हुने निर्णयसँगै स्कटल्याण्ड र आयरल्याण्ड युकेबाट अलग हुने तयारीमा लागेका छन् । स्कटल्याण्डका ६२ प्रतिशत नागरिकले ईयुमै रहनुपर्ने पक्षमा मतदान गरेका थिए ।

स्कटल्याण्ड नेशनल पार्टी (एसएनपी)का नेता नोकला स्टरजियोनले भनेका छन्, ‘नतिजाबाट प्रष्ट भएको छ कि स्कटल्याण्डका जनताहरु युरोपियन युनियनमै आफ्नो भविष्य देखिरहेका छन् । यस्तो अवस्थामा हाम्रो सरकारले छिट्टै युकेबाट स्वतन्त्रताका लागि जनमत संग्रह आह्वान गर्नेछ ।’ आयरल्याण्डले पनि यस्तै तयारी थालेको छ ।

ब्रिटेनको यस्तो निर्णयपछि युरोपियन युनियनको सबैभन्दा शक्तिशाली देश फ्रान्समा लगातर ३ आपतकालीन बैठक बस्यो । फ्रेन्च राष्ट्रपति फ्रान्स्वा ओल्याण्डले जर्मन चान्सलर एंगेला मर्केल र युरोपियन युनियनका अध्यक्ष डोनाल्ड टस्कसँग लामो कुराकानी गरे ।

ब्रिटेन बाहिरेसँगै फिनल्याण्ड, हंगेरी, डेनमार्क लगायतका मुलुक पनि ईयुबाट बाहिरिने खतरा बढेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF