‘निर्वाचन कुनै पनि हालतमा रोकिन्न’ः प्रधानमन्त्री दाहाल

 आवाज संवाददाता     २४ फाल्गुन २०७३, मंगलवार

दोलखा, २४ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताए । दोलखाको घ्याङसुकाठोकर गाविस–५ भञ्ज्याङमा निर्माण भएको बौद्ध धर्मावलम्बीको काकालिङ(स्वर्गद्वार) उद्घाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्रको संस्थागत विकासका लागि पनि स्थानीय निकायको निर्वाचन जरुरी रहेको बताए ।
संविधान कार्यान्वयनका लागि कानुन अनुसार आउँदो माघ ७ गतेभित्र तिनै तहको निर्वाचन आवश्यक भएकाले घोषणा भएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताए । निर्वाचन रोक्नका लागि विभिन्न शक्ति केन्द्रहरु लागि परे तापनि सरकार निर्वाचन गर्न प्रतिबद्ध रहेकोमा जोड दिए ।
‘सरकारले स्थानीय तहको निर्वाचनको मिति बैशाख ३१ गते घोषणापछि एकमुष्ट १० अर्ब बजेट निकासा गरेको छ’ उनले भने ‘निर्वाचनका लागि प्राविधिक समस्या कुनै पनि छैन, स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन समेत निर्वाचन आयोगलाई बुझाई सकेका छौं ।’


अत्यन्तै तनावमा देखिएका प्रधानमन्त्रीले सप्तरीमा एमाले र मधेशी मोर्चा बीचको कार्यक्रममा घटना रोक्न चाँहदा चाँहदै पनि केहीको ज्यान गएकोप्रति दुःख व्यक्त गरे । तत्कालै घटनाको सम्बन्धमा मन्त्रिपरिषद्बाट सम्बोधन हुने र मधेशी मोर्चासँग पनि वार्ताबाट समस्या समाधानको पहल गर्ने बताए ।
प्रधानमन्त्रीलाई स्थानीयहरुले भेड्पू गाविसमा नापी नहुँदा स्थानीयलाई समस्या भएको र स्थानीय सडक, पर्यटन पूर्वाधारका विषयमा माग पेश गरेका थिए । प्रधानमन्त्रीले अहिले निर्वाचन आचारसंहिता लागेकाले केही सम्बोधन तत्काल हुन नसके तापनि रोकिएको चलचित्र नगरीको काम सुचारु हुने र स्थानीयको मागका विषयमा आगामी बजेटले सम्बोधन गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।