चुनावी अभियानमा जुटे दल

 आवाज संवाददाता     २५ फाल्गुन २०७३, बुधबार

दोलखा, २५ फागुन

सरकारले स्थानीय तहको निर्वाचनको मिनित घोषणासँगै स्थानीयस्तरमा चुनावी चहलपहल सुरु भएको छ । राजनैतिक पार्टी र नेताहरु गाउँ टोल टोलमा अभियान सञ्चालन गरिरहेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना चुनाव केन्द्रित अभियान सञ्चालन गरेका छन् । पार्टीहरुले स्थानीय तह पुर्नसंरचना आयोगले निर्धारण गरेको सिमाना अनुसार पार्टी संगठन पनि सोही अनुसार पुर्नगठन गर्न सुरु गरेका छन् ।
पुर्न संरचना अनुसार सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले आफ्नो संगठन गठन सुरु गरेको हो । नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज देवी खड्काका अनुसार दोलखाको ७ गाउँ पालिका र २ नगरपालिका मध्ये अधिकाँशमा नयाँ कमिटी गठन भएका छन् । नगर तथा गाउँ पालिका तहका कमिटी गठन भएकाले नयाँ संरचना अनुसारको वडा कमिटी समेत गठन सुरु भएको खड्काले जानकारी दिइन् ।
माओवादी केन्द्रमा विगतमा आन्तरिक विवादले पार्टी कमिटी सक्रिय नभए तापनि एक महिना यता सबै विवाद टुङ्गो लगाएर पार्टी निर्माण र स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा लागेको उनले बताइन् । पार्टी गठनसँगै माओवादीले वडा तहसम्म सम्पर्क मञ्च र जनवर्गीय संगठन समेत गठन गर्दै आएको छ ।
नेकपा एमालेले पार्टी केन्द्रीय अभियान अन्र्तगत नै ४ महिने अभियान सञ्चालन गरेको छ । अभियानमा स्थानीय पार्टी कमिटी पुर्नगठन र आगामी निर्वाचनका लागि उम्मेद्वारहरुको बारेमा समेत छलफल सुरु गरेको छ । एमालेले पुरानै संरचना अनुसार पार्टी कमिटी पुर्नगठन गरे तापनि निर्वाचनको मिति घोषणापछि नयाँ संरचनामा समेत पार्टी कमिटी गठन गर्न थालेको छ ।
एमालेले केही दिन अघि मात्र वैत्यश्वर गाउँ पालिका (साविकको नाम्दू गाविस) मा पर्ने २ वटा वडा अधिवेशन गरेको छ ।
एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेलले स्थानीय तहका सबै नगर र गाउँ पालिका जित्ने गरी एमालेको शक्ति लागेको बताए । पार्टी नेता कार्यकर्ताहरु अभियानकै क्रममा अहिले पनि गाउँ गाउँमा रहेको बताए । एमालेले पालिका तहको सम्पर्क मञ्चहरु समेत गठन सुरु गरेको छ ।
काँग्रेसको उम्मेद्वार नै घोषणा
नेपाली काँग्रेसले निर्वाचन केन्द्रित अभियानका क्रममा भीमेश्वर नगरपालिका वडा नं. १ (साविक सुस्पाक्षमावती गाविस) को उम्मेद्वार नै घोषणा गरिसकेको छ । ३ दिन अघि सुस्पाक्षमावतीमा कार्यक्रम नै गरी वडा अध्यक्षको रुपमा भक्तबहादुर थामीलाई उम्मेद्वार घोषणा ग¥यो । संभवत स्थानीय तहका लागि घोषणा भएका उम्मेद्वार थामी नै पहिलो भएको काँग्रेसले दाबी गरेको छ ।
काँग्रेसका नेताहरु एक महिना यता विभिन्न कार्यक्रममा व्यष्त छन् । २ महिना अघि देखि दोलखा क्षेत्र नं. २ को अभियान सुरु गरेको काँग्रेसले अहिले १ नं. क्षेत्रमा पनि आफ्ना गतिविधि बढाएको छ । बुधबार भीमेश्वर नगरपालिकाका अगुवा कार्यकर्ता भेला गरेको काँग्रेसले नगरपालिका बाहिरका नेताहरु आफ्नै क्षेत्रमा केन्द्रित भएका छन् ।
काँग्रेसले एक महिना अघि आफ्ना जिल्ला कार्यसमिति सदस्यहरुलाई सम्बन्धित गाउँपालिका र नगरपालिकाको संयोजकको समेत जिम्मेवारी तोकेको छ । काँग्रेस सभापति रुद्रबहादुर खड्काले काँग्रेस अहिले निर्वाचनमा होमिएकाले सबै नेताहरु अहिले आफ्नै क्षेत्रमा कसरी काँग्रेस जिताउँने अभियानै ध्यान दिएको बताए ।
निर्वाचनमा ३ ठूला पार्टीसँगै राप्रपा, नयाँ शक्ति नेपाल, संघीय फोरम लगायतका पार्टीहरु पनि निर्वाचन केन्द्रित गतिविधिमा लागेका छन् । नयाँ शक्तिले आफ्नो गाउँ संगठन निर्माणलाई तिब्रता दिएको छ । नयाँ शक्तिका जिल्ला संयोजक रविन्द्र कार्कीले पुराना पार्टीहरु आफ्ना पुराना संगठन सक्रिय पार्न लागे पनि आफ्नो नयाँ पार्टी भएकाले नयाँ संगठन निर्माणमा जुटेको बताए ।
चुनावी अभियानसंगै पार्टीहरु एकअर्काका नेता कार्यकर्ता आफूतिर तान्न पनि तल्लिन छन् । एमालेले माओवादी र काँग्रेसका नेता प्रवेश भएको प्रचार गरिरहेको छ । त्यसैगरी काँग्रेस र माओवादी केन्द्रले पनि आफ्नो पार्टीमा एमाले सहितका पार्टीबाट प्रवेशको तस्बिर सार्वजनिक गरिरहेका छन् ।
तस्बिरः नेपाली काँग्रेसले सुस्पामा गरेको कार्यक्रममा थामी जातीको परम्परागत झाँकी प्रस्तुत गर्दै

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF