दोलखामा आंशिक बन्द, मध्यान्हपछि खुल्ने

 आवाज संवाददाता     २७ फाल्गुन २०७३, शुक्रबार

दोलखा, फागुन २७/सप्तरी घटनाको विरोधमा मधेशी मोर्चासहित संघीय गठबन्धनले गरेको बन्दको प्रभाव दोलखामा आंशिक रुपमा परेको छ ।
लामो दुरीका सवारी साधनहरु चलेका छैनन् भने विहानी सत्रका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सदरमुकाम चरिकोट बजार आंशिक रुपमा खुलेको छ । निजी सवारी साधनहरु फाट्टफुट्ट रुपमा चलेका छन् ।
सदरमुकाम चरिकोटबाहेक जिल्लाका अन्य बजार क्षेत्रहरुमा बन्दको प्रभाव परेको छैन । पर्यटकीय नगरी जिरीमा बजार खुलै रहेको र सबैखाले सवारी साधनहरु चलिरहेको भक्त जिरेलले जानकारी दिए । त्यसैगरी मैनापोखरी बजारक्षेत्रमा पनि बजार पनि पूर्ण रुपमा खुलेको र सवारी साधनहरु निर्वाध चलिरहेको जानकारी मैनापोखरीका कमल दाहालले जानकारी दिए । त्यस्तै उत्तरी क्षेत्रको मुख्य बजार सिँगटीमा बन्दको प्रभाव परेको छैन ।
चरिकोट सातदोबाटोमा संघीय समाजवादी फोरमका नेता कार्यकर्ता जम्मा भई बन्द गराइरहेका छन् भने जिल्लाका अन्य क्षेत्रहरुमा बन्दकर्ताहरुको उपस्थिति छैन भने बन्दको प्रभाव पनि परेको छैन ।
संघीय समाजवादी फोरमका जिल्ला नेता लक्ष्मण गुभाजुले मध्यान्हपछि बन्द खुल्ने जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF