चरिकोट अस्पतालमा कर्मचारी छनोटमा विवाद

 आवाज संवाददाता     २९ फाल्गुन २०७३, आईतवार
  • दोलखा, २९ फागुन/प्रस्तावित चरिकोट अस्पतालमा कर्मचारी छनोटमा विवाद देखिएको छ । न्याय हेल्थ नामक संस्थाद्वारा सञ्चालित अस्पतालमा एक साताअघि लिइएको परीक्षामा विवाद देखिएको हो ।
    गत फागुन ५ गते न्याय हेल्थले हेल्थ असिष्टेन्ट–१, सिएमए–१ र सामुदायिक स्वास्थ्य कार्यकर्ता–८ जनाका लागि सूचना प्रकाशित गरेको थियो । यसरी प्रकाशित सूचना अनुसार संस्थाले २१ गते सहभागीहरुलाई लिखित परीक्षा लिई सोही दिन नतिजा प्रकाशित गरेको थियो । तर २२ गते लिइएको मौखिक परीक्षाको नतिजा भने ६ दिनपछि मात्रै गरेको थियो । लिखित परीक्षा लिएकै दिन सोको नतिजा प्रकाशित गर्नु तर मौखिक परीक्षाको नतिजा ६ दिनपछि अर्थात २७ गते गर्नुलाई सहभागीहरुले नै आश्चर्यजनक रुपमा लिएका छन् । सहभागीहरुले यसमा संस्थाको खराब नियत रहेको आरोप लगाएका छन् । लिखित परीक्षाको रिजल्ट हतारमा गर्नु र मौखिक परीक्षाको रिजल्ट २ घण्टा पछाडि हुन्छ भन्दै ६ दिन पछाडि गर्नुमा संस्थाको स्वार्थ रहेको परीक्षामा सहभागीहरुले गुनासो गरेका छन् ।
    यसै विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय दोलखामा गुनासो समेत परेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले सो विषयमा गुनासो परेको पुष्टि गरे । उनले फागुन १८ गतेदेखि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गरिसेकेकोले यसलाई कार्यान्वयनमा लैजाँदा समस्या हुन्छ भन्दाभन्दै संस्थाले अटेर गरी रिजल्ट निकालेको बताए । ‘आचारसंहिता नेपाल सरकारका निकायलाई मात्र होइन सोसँग सम्वन्धित सबै संघसंस्थाहरुलाई पनि लाग्छ । तत्काल कर्मचारी भर्ना रोक्नुपर्छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी कटवालले भने ।
    न्याय हेल्थ नेपाल दोलखाका प्रमुख बुसन प्रसाईले रिजल्ट भएको कुरा स्वीकार गर्दै आफुलाई पनि कर्मचारी भर्नाका विषयमा जिल्लाका धेरै राजनीतिक पार्टीका नेताहरुबाट गुनासो आएको बताए । उनले निर्वाचन आचारसंहिता लागू भैसकेकोले निर्वाचन आयोगको परामर्शपछि मात्रै निर्णयमा पुग्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।