सुजन परिताद्वारा २४ विद्यार्थीलाई छात्रवृत्ति

 आवाज संवाददाता     १ चैत्र २०७३, मंगलवार

दोलखा, १ चैत/सुजन परिता एजुकेशन फाउण्डेशन, अमेरिकाले कालिन्चोक माविमा अध्ययन गर्ने २४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सोकास नेपाल दोलखा र कालिन्चोक माविले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा कालिन्चोक माविको कक्षा १ देखि ११ सम्म अध्ययन गर्ने उत्कृष्ठ छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
कालिन्चोक माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी सोही विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने उत्कृष्ठ दुई छात्रा तथा दुई छात्रहरुलाई जनही २५ हजार नगद र एकएकवटा ल्यापटप प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा सुजन परिता एजुकेशन फाउण्डेशन, अमेरिकाका संरक्षक कृष्णानन्द न्यौपानेले उनीहरुलाई सो छात्रवृत्ति प्रदान गरेका हुन् ।
त्यसैगरी सो विद्यालयको कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट छात्र तथा छात्रा गरी २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । उनीहरुलाई स्कुल झोला, क्याल्कुलेटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । सो पुरस्कारका लागि सुजन परिता एजुकेशन फाउण्डेशनले कालिन्चोक विद्यार्थी समाज सोकासलाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको थियो । फाउण्डेशनका अध्यक्ष सुजन न्यौपाने छन् । उनी कालिन्चोक माविका पूर्व विद्यार्थी हुन् ।
सो अवसरमा कालिन्चोक विद्यार्थी समाज साकोसले कालिन्चोक माविका पूर्व शिक्षकहरुलाईसमेत सम्मान गरेको छ । सम्मानित हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णबहादुर गौतम, चित्रबहादुर कार्की र बाबुराम शर्मा रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व जिल्ला न्यायाधीश कृष्णानन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा तथा जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका छन् । उनीहरुलाई जनही ३ हजार १ रुपैयाँ नगद प्रदान गरिएको हो ।
सोकासका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि एबं सुजन न्यौपानेका पिता तथा दोलखा पूर्व जिल्ला न्यायधीश कृष्णानन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवा, पूर्व विद्यार्थी एवं पत्रकार राजेन्द्र मान्नधर, पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीबी मास्के, सोकासका पूर्व अध्यक्ष ध्रुव बस्नेत, सोकासका संस्थापक सल्लाहकार शम्भु गौतम, गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुनिल आचार्य, सोही बिद्यालयका प्राचार्य नबराज न्यौपाने लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF