दोलखामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

 आवाज संवाददाता     २ चैत्र २०७३, बुधबार

दोलखा, २ चैत/‘उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्यान, सुरक्षित राखौँ सम्पत्ति र जिउ ज्यान’ भन्ने मुल नाराका साथ दोलखा सदरमुकाम चरिकोटमा विश्व उपभोक्ता अधिकार संरक्षण दिवस मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा उपभोक्ता जागरण कार्यक्रमको मुख्य लक्ष्यसहित उपभोक्ता अधिकार दिवस मनाइएको हो । टुँडिखेलबाट सुरु भएको प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरी सातदोबाटोमा कोणसभा गरेको थियो ।
सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी कांग्रेसमा उपभोक्ताका चार अधिकार घोषणा गरेको दिनलाई सम्झनामा हरेक वर्ष मार्च १४ का दिन विश्व उपभोक्ता अधिकार दिवस मनाउँदै आइएको छ । तर दोलखामा यसरी उपभोक्ता अधिकार दिवस मनाएको पहिलो हो । त्यसबेला घोषणा गरिएका उपभोक्ता अधिकारहरुमा सुरक्षा, सूचना, छनोट र सुनुवाइको अधिकार पर्दछन् । पछि उपभोक्ता शिक्षाको अधिकार, क्षतिपूर्तिको अधिकार, आधारभूत आवश्यकतामा पहुँचको अधिकार र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार थप गरी विश्वभर उपभोक्ताका आठ वटा अधिकारहरुलाई संयुक्त राष्ट्र संघीय उपभोक्ता संरक्षण अनुबन्ध १९८५ पारित भएअनुसार सदस्य राष्ट्रहरुले त्यसको पालना गर्दैै आएका छन् । नेपालमा सुरक्षा, सूचना, छनोट, सुनुवाइ, शिक्षा र क्षतिपूर्तिको अधिकार उपभोक्ता अधिकारका रुपमा स्थापित छ । उपभोक्ताका अन्य अधिकारलाई संविधानद्वारा व्यवस्था गरिएको छ ।
उपभोक्ता अधिकार संरक्षणका लागि उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली २०५६ क्रियाशील छ । ऐनले उपभोक्ता अधिकार, उत्पादक वा बिक्रेता वा प्रदायकहरुको कर्तव्य र उपभोक्ता हित विपरीत कार्य गर्नेलाई सजाय व्यवस्था उल्लेख छ ।
विश्व उपभोक्ता अधिकार संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय विकास अधिकारी शंकर नेपाल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शम्भु गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल वार एसोसिएसनका अध्यक्ष कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की, नेपाल नागरिक समाजका अध्यक्ष दीपशंकर चौलागाईँ, असल शासन समन्वय समितिका अध्यक्ष दीपक बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी एवं उपभोक्ता हित संरक्षण अधिकारी बालकृष्ण कटवालले उपभोक्ता अधिकारका बारेमा धारणा राखेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF