नागरिकता वितरण तीनदिनदेखि शून्य

 आवाज संवाददाता     २ चैत्र २०७३, बुधबार

दोलखा, चैत २/दैनिक ५० जनाले नागरिकताको प्रमाणपत्र लिने गरेको दोलखा जिल्ला प्रशासन कार्यालय तीनदिन देखि सुनसान झैँ छ । नागरिकताको प्रमाणपत्र बनाउन सेवाग्राहीहरु नआएपछि जिल्ला प्रशासन कार्यालय सुनसान जस्तै भएको हो ।
तीन दिनअघिदेखि सरकारको निर्णयअनुसार स्थानीय तह नयाँ संरचनामा गएपछि सेवाग्राहीहरु भएको अन्योलका कारण नागरिकता लगायतका कामहरु बन्द भएको छ । तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकताका लागि कुनै पनि सेवाग्राही नआएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जानकारी दिए ।
दोलखाका दुई नगरपालिका र ७ गाउँपालिकामध्ये केही गाउँपालिकामा कार्यालय स्थापना गर्ने स्थानको विवादका कारण नयाँ कार्यालय स्थापना हुन सकेको छैन । स्थानीय विकास अधिकारी शंकर नेपालले वैतेश्वर, मेलुङ र गौरीशंकर गाउँपालिकामा विवादका कारण कार्यालय स्थापना हुन नसकेको बताए । उनले कतै विवाद र कतै कार्यालय व्यवस्थापनको अभावमा नागरिकताको सिफारिस हुन नसकेको जानकारी दिए । नयाँ कार्यालयका कारण अन्योल भएकाले सेवाग्राही पनि अलमल्ल परेकोले नागरिकताको सिफारिस नभएको हुनसक्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले स्थानीय तह पुनःसंरचना अनुसार नागरिकताको प्रमाणपत्र वितरण गर्नुपर्नेमा सो अनुसार सफ्टवेयर अपग्रेड नभैसकेकोले नागरिकताको प्रमाणपत्र वितरण गर्न सक्ने अवस्था नरहेको बताए । एकदुई दिनभित्र नागरिकताको सफ्टवेयर अपग्रेड भैसक्ने र नागरिकताको प्रमाणपत्र वितरणमा सहजता हुने उनले बताए ।
नागरिकताको प्रमाणपत्र वितरण कार्य तीन दिनदेखि रोकिएको भए पनि राहदानी वितरण कार्यमा कुनै समस्या नभएको कार्यालयले जनाएको छ ।

तस्विरः जिल्ला प्रशासन कार्यालय, दोलखाको फेसबुक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF