दोलखाका तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

 आवाज संवाददाता     ३ चैत्र २०७३, बिहीबार

दोलखा, ३ चैत/दोलखाका तीन कृषकहरु राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।
मिर्गे २ का अलैँची कृषक राजकुमार तामाङ, बंगुरपालक भीनपा १० का शान्तकुमार जिरेल र भेडपु १ का केरा खेती गर्ने भक्तबहादुर दाहाल सम्मानित भएका हुन् । उनीहरुले जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् । पुरस्कृत कृषकहरुलाई क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । उनीहरुलाई राष्ट्रपति क्षेत्रीय पुरस्कारका लागि पनि सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय दोलखाका वरिष्ठ कृषि विकास अधिकृत नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी जिल्ला कृषि विकास कार्यालय दोलखाले जिल्लाका उत्कृष्ट १० कृषकहरुलाई पनि सम्मान गरेको छ । सम्मानित कृषकहरु सुन्तला खेती गर्ने सुनखानी १ का खड्गबहादुर शिवाकोटी र पवटी ८ का मिठुमाया दाहाल, तरकारी खेती गर्ने भीमेश्वर १० का सुन्तली लामा र काब्रे ६ का चन्द्रबहादुर दाहाल, मौरीपालक लामीडाँडा ५ का बिक्रम श्रेष्ठ, केराखेती गर्ने शहरे ५ का श्यामबहादुर सुवेदी, कफी खेती गर्ने मालु ६ का गीता पोखरेल, माछापालक जिरी ६ का केशब कार्की, किवी खेती गर्ने फस्कु ३ का अञ्जनी बुढाथोकी र अलैँची खेती गर्ने मिर्गे २ का शुकमान तामाङ रहेका छन् । उनीहरुलाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकीले पुरस्कृत कृषकहरुलाई सम्मान गर्दै उनीहरुलाई अझ व्यवसायिक हुन आग्रह गरेका थिए । पुरस्कार वितरण कार्यक्रम वरिष्ठ कृषि विकास अधिकृत नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।