एसईई परीक्षा शान्तिपूर्ण, करिब चार हजार परीक्षार्थी सहभागी

 आवाज संवाददाता     ३ चैत्र २०७३, बिहीबार

दोलखा, ३ चैत/आजबाट सुरु भएको २०७३ सालको पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा (एसईई) दोलखामा शान्तिपूर्वक र मर्यादित रुपमा सकिएको छ ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्वक र मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय दोलखाका शाखा अधिकृत अर्जुन कार्कीका अनुसार जिल्लाबाट ३ हजार ९ सय ८१ परीक्षार्थीहरु सहभागी भएका छन् ।
सहभागी परीक्षार्थीहरु मध्ये ३ हजार ९ सय ५१ परीक्षार्थीहरु साधारणतर्फका छन् भने ३० परीक्षार्थीहरु प्राविधिक धारका छन् । शाखा अधिकृत कार्कीले छात्र ९५ र छात्रा १ सय ९ गरी २ सय ४ परीक्षार्थीै अनुपस्थित भएको जानकारी दिए ।
परीक्षामा सहभागी हुनेहरुमा १ हजार ८ सय ३० छात्र र २ हजार १ सय ५१ छात्रा छन् । तीमध्ये एक्जेम्टेडतर्फ ५५ छात्र र एक सय २२ छात्रा छन् भने आंशिक ग्रेड बृद्धितर्फ ४४ छात्र र १ सय २ छात्रा रहेका छन् । परीक्षा सञ्चालनका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । कतिपय परीक्षा केन्द्रमा परीक्षार्थीहरु अस्थायी टहरोमै परीक्षा दिन बाध्य भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF