लामाबगरको गोँगर र जगतमा ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार

 आवाज संवाददाता     ५ चैत्र २०७३, शनिबार

दोलखा, चैत्र ५ । दोलखाको उत्तरी क्षेत्रको लामाबगर गाविसस्थित गोँगरमा नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा विस्तार गरेको छ ।
नेपाल टेलिकमको चरिकोट शाखाले हिजोदेखि लामाबगरको गोँगर र जगतमा ल्याण्डलाइन र इन्टरनेट सेवा सुरु गरेको कार्यलय प्रमुख श्याममणि अर्यालले जानकारी दिए । लामाबगरको सिस्नेरीमा टेलिफोन एक्सचेञ्ज राखी ५० लाइन टेलिफोन र २३ लाइन एडीएसएल इन्टरनेट सेवा वितरण गरेको उनले जानकारी दिए ।
वितरित टेलिफोनमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले मात्रै २३ लाइन टेलिफोन जडान गरेको छ । त्यसैगरी गोँगरका स्थानीयले १० लाइन र जगतका स्थानीयले १७ लाइन टेलिफोन जडान गरेका छन् । त्यस्तै टेलिकमले वितरण गरेको २३ लाइन एडीएसएलमध्ये आयोजनाले १० लाइन, गोँगरवासीले ३ लाइन र जगतवासीले १० लाइन जडान गरेका छन् ।
टेलिकमले ८२ वटा पोलमार्फत गोँगर र जगतमा लाइन विस्तार गरेको र करिब ३५ लाखको लागतमा सो क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गरेको टेलिकम चरिकोट शाखाका प्रमुख अर्यालले बताए । हाल ९६ लाइन टेलिफोन क्षमता रहेको र २४ लाइन एडीएसएल क्षमता रहेकोमा तत्कालै एडीएसएलको २४ लाइन थप गरिने उनले बताए ।
खासगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मागअनुसार जोडिएको टेलिफोन र इन्टरनेट सेवाबाट आयोजनालाई निकै सहयोग पुग्नेछ । इन्टरनेट सेवा नहुँदा कुनै डकुमेन्ट प्राप्त गर्न र पठाउन सदरमुकामसम्म दौडधुप गर्नुपरेकोमा अब इन्टरनेट चलेपछि निकै सहज हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
सो क्षेत्रमा इन्टरनेट चलेपछि पर्यटन विकासमा समेत निकै सहयोग पुग्ने स्थानीयहरुको आशा छ । यसअघि टेलिकमले नमस्ते र सीडीएमए मोबाइल सेवा प्रदान गरेको भए पनि इन्टरनेट सञ्चालनमा समस्या थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।