हुराडेकद्वारा तालाबन्दीको विरोध र जीवन रक्षाको माग

 आवाज संवाददाता     ७ चैत्र २०७३, सोमबार

दोलखा, चैत्र ७ । मानव अधिकारवादी संस्था हुराडेक नेपाल दोलखाले उसको कार्यालयमा हिजो योङ कम्युनिष्ट लिग नेपालले लगाएको तालाबन्दीको घोर भत्सर्ना गर्दै सत्यतथ्य छानविन गरी दैनिक कार्यालय सञ्चालनको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेको छ ।
हुराडेक नेपाल दोलखाले आज विहान पत्रकार सम्मेलन गरी दैनिक कार्यालय सञ्चालनको वातावरण बनाइदिन र संस्थामा कार्यरत पदाधिकारी र कर्मचारीको जीवन रक्षाको लागि नेपाल सरकारसँग माग गरेको हो । सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा योङ कम्युनिष्ट लिग नेपालले हिजो बेलुका ४ बजे हुलजत्था सहित संस्थाको कार्यालयमा प्रवेश गरी, कर्मचारीप्रति दुव्र्यवहार गरी तालाबन्दी गरिएको कार्यप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हुराडेक नेपाल दोलखाले निर्वाचन आचार संहिता उल्लंघन गर्दै आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको र मतदाताहरुलाई असर पर्ने अन्य काम गरेको भन्दै योङ कम्युनिष्ट लिग नेपाल दोलखाले हिजो बेलुका तालाबन्दी गरेको थियो ।
‘हाम्रो संस्थाले निर्वाचन आचारसंहिता उल्लंघन हुने कुनै क्रियाकलाप सञ्चालन नगरी, नेपाल सरकारसँग स्वीकृती लिई, सरकारसँगको समन्वयमा काम गरेको व्यहोरा जानकारी गराउँछौ ।’ हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘संविधानले प्रदत्त गरेको अधिकार अनुसार नेपाल सरकारको नियम कानुन बमोजिम दर्ता भई कामकाज सञ्चालन गर्दै आएको यस स्वतन्त्र संस्थाप्रति सरकार सञ्चालनमा रहेको पार्टीकै भातृ संगठनले कानुन र संविधानले दिएको अधिकार कुण्ठित गर्ने दुस्प्रयासप्रति घोर भत्र्सना गर्दछौँ ।’
योङ कम्युनिष्ट लिग नेपाल दोलखाले लगाएका आरोपहरुबारे सत्यतथ्य पत्ता लगाइदिन र हुराडेकको सम्पूर्ण प्रक्रियाहरुको अनुगमन गरिदिन, मानवअधिकार संरक्षण र सम्बद्र्धनको लागि समेत नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु, गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ, सञ्चार माध्यम, सञ्चारकर्मीहरु र नागरिक समाजका विभिन्न संघ संस्थाहरुलाई आग्रह गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF