संरचना परिवर्तन भयो तर सूचना साविकै

 आवाज संवाददाता     ७ चैत्र २०७३, सोमबार

दोलखा, ७ चैत
स्थानीय तह पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदन राजपत्रमा प्रकाशित भएसँगै स्थानीय तह पुर्नसंरचना भएको छ । पुरानो स्थानीय निकाय संरचना भएर स्थानीय तह भएको छ । तर हाम्रा सरकारी कार्यालयको सूचना परिवर्तन भएका छैनन् ।
स्थानीय तह कार्यान्वयनमा आएको २ साता विति सकेको छ । जिल्ला विकास समितिको नाम र भूमिका परिवर्तन भएर जिल्ला समन्वय समितिको कार्यालय र दोलखाको साविकको २ नगरपालिका र ४८ गाविस ७ गाविस र २ नगरपालिकामा रुपान्तरण भएका छन् । तर सरकारी कार्यालयको डिजिटल सूचना प्रवाह गर्ने वेवसाइट २ सातासम्म अद्यावधीक भएको छैन ।
दोलखाको जिल्ला विकास समितिको वेव साइटमा नाम मात्र परिवर्तन गरी जिल्ला समन्वय समिति भएको छ । तर त्यसमा सूचना भने पुरानै २ नगरपालिका र ४८ गाविस नै उल्लेख छ । जिल्ला समन्वय समितिमा साविककै कर्मचारीहरु कार्यरत छन् ।
हालसम्म पनि जिल्ला समन्वय समितिमा छुट्टै सूचना शाखा छ । त्यसमा वरिष्ठ सूचना अधिकृत सहितका कर्मचारी कार्यरत छन् । तर सूचना अद्यावधिकको काम भने सुन्य जस्तै छ । स्थानीय विकास अधिकारी शंकर नेपालले प्राविधिक कारणले वेवसाइट अद्यावधिक हुन ढिला भएको स्वीकार गरे । केही दिनमै त्यसको वेवसाइट अद्यावधीक हुने उनले बताए ।
दोलखाका जिल्ला शिक्षा कार्यालय, डिभिजन सहकारी कार्यालय लगायतका वेवसाइट अझै पनि अद्यावधिक छैनन् । भीमेश्वर नगरपालिकाको वेवसाइट अद्यावधीक नगरेपछि नखुल्ने गरी राखेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।