वाइसीएलले हुराडेकमा लगाएको ताला खुल्यो

 आवाज संवाददाता     ९ चैत्र २०७३, बुधबार

दोलखा, चैत ९ । योङ कम्युनिष्ट लिग नेपाल दोलखाले हुराडेक नेपाल दोलखामा लगाएको ताला आज खुलेको छ ।
आज विहान पत्रकार सम्मेलनको आयोजना गरी लिगका दोलखा जिल्ला अध्यक्ष सन्तोष केसी चेले नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केलाई हुराडेक नेपालमा लगाएको तालाको चावी हस्तान्तरण गरेका हुन् । निर्वाचन आचारसंहिता विपरीत कार्य नगर्ने प्रतिवद्धतापछि ताला खोलिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्व र निर्वाचन अधिकृतको रोहबरमा सबै गैरसरकारी र अन्र्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले अबदेखि आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता निर्णय गरेको हुँदा सो निर्णयको सम्मान गर्दै कार्यान्वयनमा सहयोग गर्नु कर्तव्य ठान्दछौँ ।’ भूकम्पपछिको पुनःनिर्माण र स्वास्थ्यसँग सम्बन्धित कार्य बाहेक सबै गतिविधिहरु निर्वाचन आचारसंहिता विपरीत हुने भएकोले त्यस्ता सबै गतिविधि रोक्ने काम नभएमा दोस्रो चरणको आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ । जिल्लामा कार्यरत सबै संघसंस्थाहरुले आचारसंहिता विपरीत गतिविधि रोक्न र ३ दिनभित्र हिसाबकिताब पारदर्शी गर्न भनिएको छ ।
मानव अधिकारवादी संस्था हुराडेक नेपालले निर्वाचन आचार संहिता उलंघन गदै आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको र मतदाताहरुलाई असर पर्ने अन्य काम गरेको भन्दै योङ कम्युनिष्ट लिग नेपाल दोलखाले ३ दिनअघि तालाबन्दी गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।