काँग्रेस जिरी नगरको कार्यबाहक सोनाम शेर्पा

 आवाज संवाददाता     ११ चैत्र २०७३, शुक्रबार

दोलखा, ११ फागुन
नेपाली काँग्रेस जिरी नगरपालिकाको कार्यबाहक सभापतिमा सोनाम शेर्पा चयन भएका छन् । सभापति टंक जिरेलले पार्टी अनुशासन विपरितको काम गरेपछि बिहीबारै सभापतिलाई कारबाही गरेर शेर्पालाई कार्यबाहक सभापति चयन गरेको हो ।
नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले शेर्पालाई बिहीबार दिउँसो नै कार्यबाहकको जिम्मेवारी दिएका हुन् । कार्यबाहक सभापति शेर्पा पार्टी चुनावी अभियानमा बिहीबार र शुक्रबार मालीहुँदै श्यामा पुगेका छन् । नगरपालिकाको निर्वाचनका लागि जिल्ला पार्टी सभापति खड्का विहीबार दिउँसो नै जिरी पुगेका हुन् । केही दिनदेखि काँग्रेस पार्टी आचार विपरितका क्रियाकलापमा नगर सभापति जिरेल संलग्न हुँदै आएको ठहरपछि काँग्रेसले बिहीबार दिउँसो नै पार्टीको साधारण सदस्य समेत नरहने गरेको कारबाही गरेको सभापति खड्काले आवाज अनलाइनलाई बताए ।
काग्रेसले कारबाही गरे लगत्तै जिरेलले सामाजिक सञ्जालमा सन्देश लेखी ३५ वर्षे काँग्रेस राजनीतिबाट अलग भएको घोषणा गरेका थिए । काँग्रेसबाट विदा भएको घोषणाको २४ घण्टा नबित्दै काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा श्रीमति सहित एमाले प्रवेश गरेका छन् ।
आउँदो स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा अघि सारेको बेला जिरेल मेयरकै टिकट माग्दै एमाले प्रवेश गरेका स्रोतको दाबी छ । जिरेलले पार्टी परित्याग गरे तापनि थप एकताबद्ध भएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई सभापति खड्काले आव्हान गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।