काठमाडौं उज्यालो हुँदा, विद्युतगृह भएको जिल्ला दोलखामा विद्युत अनियमित

 आवाज संवाददाता     १२ चैत्र २०७३, शनिबार

दोलखा, १२ चैत /काठमाडौं लोडसेडिङमुक्त भएसँगै दोलखामा विद्युत अनियमित भइरहेको छ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भए लगत्तै काठमाडौंबाट लोडसेडिङमुक्त भएको हो । यो अभियान देशभरका ठूला सहरहरुमा समेत पुगेपछि दोलखामा भने विद्युत अनियमितता झन बढ्दै गएको छ ।
दोलखा विगत १० वर्षयता लोडसेडिङ नहुने जिल्लाको रुपमा परिचित छ । तर अहिले विद्युतको भर नभएको जिल्लाको रुपमा चिनिन लागेको अनुभुती आम उपभोक्ताहरुमा हुन लागेको छ । विद्युत कति बेला जाने र आउने आजभोली टुङ्गो न नहुने अवस्था भएको छ ।
दोलखाका सहर र ग्रामीण क्षेत्रमा अन्धकारमा बस्नुपर्ने रात बढ्दै जान थालेको छ । विद्युत अनियमित हुँदा कम्प्युटर, टेलिभिजन, मोबाइल, चार्जर लगाएतका विद्युतीय उपकरणहरु जल्ने क्रम पनि बढेको छ । विद्युत अनियमित र कहिले उच्च भोल्टेजका कारण पनि उपभोक्ताका विद्युती उपकरण जल्ने समस्या बढ्दै गएको छ ।
शनिबार मात्र दिनभर विद्युत आउने जाने भइरहेको छ । चरिकोटका होटल व्यवसायी नवराज कार्कीले भने ‘देश लोडसेडिङमुक्त भयो भन्ने समाचार सुनेको थिएँ, तर लोडसेडिङ नहुने जिल्लामा विद्युत काटेर काठमाडौंमा विद्युत दिएको हो कि भन्ने भन्ने संका लाग्यो ।’ विना सूचना विद्युत अनियमित हुँदा उपभोक्ताको क्षतिपूर्ती प्राधिकरणसँग माग्नु पर्ने बेला भएको उनले बताए ।
दोलखामा विद्युत अनियमित हुन थालेको छ महिना जति भएको उपभोक्ताहरुको अनुभव छ । विगतमा प्राविधिक कारणले मात्र विद्युत अनियमित हुने गरे तापनि अहिले कर्मचारीकै मिलेमतोमा विद्युत अनियमित भएको हुनसक्ने उपभोक्ताहरुको अनुमान छ ।
पछिल्लो समय विद्युत कटौती हुँदा प्राविधिक कारणले हो कि भन्ने उपभोक्ताहरु चुप लागे तापनि पछिल्लो ३ महिनायता विद्युत अनियमितता बढ्दै गएपछि नियोजित रुपमै अनियमिता भएको हुन सक्ने आशंका समेत बढ्दै गएको छ । विद्युत अनियमित भइरहँदा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण शाखाका प्रमुख शेरबहादुर सुनारसँग गुनासो गर्न फोन सम्पर्क गर्न खोज्दा उनको फोन कहिले पनि उठ्ने उपभोक्ताहरु बताउँछन् ।
प्रायःजसो कार्यालयमा पनि हप्तामा २÷३ दिन जाने प्रमुख सुनार विहान र साँझपख मात्र कार्यालयमा पुग्छन् । उनलाई हत्तपत्त कार्यालयमा भेट्नै गाह्रो हुने लामाबगरका कर्मा शेर्पाले बताए । ‘उनलाई भेट्न पटक पटक कार्यालय पुगियो र कहिल्यै भेटिएन’ शेर्पाले भने ‘फोन त आफू र साथीहरुको मोबाइलबाट उनको व्यक्तिगत र कार्यालयको मोबाइलमा सयौं पटक गरें तर कहिले पनि उठेन ।’
विद्युत अनियमित हुन थालेपछि सामाजिक सञ्जालमा समेत उपभोक्ताहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । नेकपा एमाले नेता हिरा थोकरले फेशबुकमा लेखेका छन् ‘मुलुकले लोडसेडिङमुक्त हुन खोजिरहेको यो अवस्थामा दोलखामा भने करिब २४ घण्टा लोडसेडिङ भैरहेको छ ।’ कार्यालय प्रमुखको असक्षमता र केही गैरजिम्मेवार कर्मचारीका कारण दोलखाली जनता यति लामो लोडसेडिङ भोग्न बाध्य हुनु परेको उनले थपेका छन् ।
दोलखा जलविद्युत केन्द्रको जिल्लाको रुपमा चिनिन्छ । ६० मेगावाटको खिम्ती १, १० मेगावाटको सिप्रिङ खोला, ३.५२ मेगावाटको चर्नावती खोला, २.४ मेगावाटको जिरीसिक्री र १ मेगावाटको कुथलीबुखरी खोलाबाट विद्युत उत्पादन भइरहेको छ । खिम्ती बाहेकका आयोजनाको विद्युत प्रसारण लाइनको समस्याका कारण जिल्लामै खपत गर्नु पर्ने बाध्यता छ ।
विद्युत प्राधिकरण दोलखाका अनुसार विद्युतको अत्याधिक माग हुने समय साँझ २ घण्टा अधिकतम ४ मेगावाट खपत हुन्छ । राती र दिउँसो विद्युत माग १ मेगावाटभन्दा कम हुन्छ । तर सिप्रिङ, चर्नावती, जिरीसिक्री र कुथलीबाट आजभोली कुल क्षमताको एक तिहाइ विद्युत उत्पादन भइरहेको छ ।
सिप्रिङको विद्युत माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणको लागि प्रयोग भए तापनि ३ मेगावाटभन्दा बढी विद्युत जिल्लाभित्रकै आयोजनाबाट उत्पादन हुने भए तापनि आयोजनाको पावर हाउस बन्द गराएर कर्मचारीहरुले नागरिकलाई अन्धकारमा राखेका छन् ।
कुनै बेला प्राविधिक कारणले विद्युत जाने समस्या भए तापनि लगातार विद्युत अनियमिता भएपछि दोलखा प्राधिकरणमा काम गर्ने कर्मचारीहरु देश लोडसेडिङमुक्त बनाउने सरकारको अभियानको विरोधी हुन् कि भन्ने आशंका गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुस्कर अधिकारीले लेखेका छन् ‘कुलमान घिसिङ देश लोडसेडिङमुक्त बनाउने अभियानमा लागे तापनि दोलखाका कर्मचारी त्यही अभियानको विरोधी भएको अनुभव भयो ।’
काठमाडौंबाट अघिल्ला वर्षहरुमा दोलखा आउँदा उज्यालो अनुभुती गरेका पर्यटकहरु आजभोली आउँदा अध्यारोमा बस्नुपर्दा अचम्ममा पर्न थालेका छन् । ‘पोहोर आएका काठमाडौंका पर्यटक दोलखाको उज्यालोले लोभिएका थिए’ होटल व्यवसायी नवराज कार्कीले भने ‘अहिले काठमाडौं सँधै उज्यालो भएको अनुभुती गरेको पर्यटक दोलखामा अध्यारो भएपछि अप्ठ्यारो माने ।’ विद्युतकै कारण दोलखा आउने आन्तरिक पर्यटकहरु समेत घट्दै गएको उनले बताए ।
विद्युत अनियमिताको बारेमा विद्युत प्राधिरकण दोलखा वितरण केन्द्रका प्रमुख सुनुवारसँग बुझन खोज्दा उनको मोबाइल उठ्दै उठेन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।