उपभोक्ता हितका लागि चरिकोट बजार अनुगमन

 आवाज संवाददाता     १६ चैत्र २०७३, बुधबार

दोलखा, १५ चैत / जिल्ला प्रशासन कार्यालय दोलखा र सरोकारवाला सरकारी कार्यालयहरुले आज चरिकोट बजारको अनुगमन गरेका छन् ।
सदरमुकाम चरिकोट बजार र जिल्लाका अन्य व्यापारिक केन्द्रहरुमा उपभोक्ता हित विपरीत दैनिक उपभोग्य वस्तुहरु बिक्री भएको गुनासो आइरहेका बेला जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन भएको हो । अनुगमन टोलीले खाद्यान्न पसल, मासु पसल, औषधी पसल, होलट, रेष्टुरा तथा मिठाइ पसलको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा विभिन्न ५ वटा टोली बनाई बजारको विभिन्न पसलहरुको अनुगमन गरेको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जानकारी दिए ।
अनुगमन टोलीले उपभोग्य वस्तुहरुमा म्याद नाघेको, लेबल नभएको, इजाजत पत्र नभएको लगायतका दुरुस्त नभेटिएका पसलहरुलाई पहिलो पटकको लागि तारिख दिएको छ । उनीहरुलाई अन्तक्र्रिया गराई जिम्मेवारी बोध गराउने र दोस्रो पटकदेखि मुद्दा प्रक्रियामै जाने पनि संयोजक कटवालले जानकारी दिए ।
अनुगमनको क्रममा भेटिएका म्याद नाघेका उपभोग्य वस्तुहरुलाई टोलीले तत्कालै नष्ट गरेको थियो ।
उपभोक्ताको ज्यानलाई खतरा पुग्ने उपभोग्य वस्तुका बिक्री वितरण गरेमा १४ वर्षसम्म कैद सजाय वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने उपभोक्ता संरक्षण ऐन २०५४ मा व्यवस्था छ ।
अनुगमन टोलीमा सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुका अतिरिक्त दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्चको समेत सहभागिता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।