दोलखाका होटलमा मजदुर अभाव

 आवाज संवाददाता     १७ चैत्र २०७३, बिहीबार

दोलखा, १७ चैत

दोलखाका होटलमा मजदुर अभाव भएको छ । मजदुर अभाव भएपछि होटल व्यवसायीहरु मजदुरको खोजीमा लागेका छन् । मजदुर खोजीका लागि नियमित जसो स्थानीय एफएममा विज्ञापन र राजधानीका मेनपावर कम्पनीहरुसम्म धाउन थालेका छन् ।
होटलहरुको विकास दिनप्रतिदिन हुँदै गए पनि त्यसमा दक्ष मजदुर पाउन नसकेको होटल सञ्चालकहरुको गुनासो छ । होटलमा चाहे जति कामदार नहुँदा कहिलेकाहीँ त होटलमा आउने पाहुनालाई समेत सेवा पु¥याउन हम्मेहम्मे पर्ने होटल सञ्चालकहरुको भनाइ छ ।
होटलमा कुक, वेटर, होटल सरसफाइको काम गर्नेहरुको अभाव छ । मजदुर अभावकै कारण कतिपय व्यवसायीहरुले होटलको क्षमता विस्तार गर्न समेत नसकिएको उनीहरुको भनाइ छ । होटलमा दक्ष कामदारको सधैँजसो अभावै हुने गरेको क्षेत्रीय होटल संघ दोलखाका प्रवक्ता नवराज कार्कीले बताए ।
होटलमा कामदार अभाव भएपछि पाहुनाको सेवामा होटल सञ्चालकहरु आफैं कुक र वेटरको रुपमा खटिनुपर्ने अवस्था आएको छ । भनेजस्ता कामदार अभावमा कतिपय होटल व्यवसायीहरुले आफ्नै परिवारले सेवा पु¥याउन सक्ने पाहुना मात्र राख्ने गरेका छन् ।
‘हामीले कामदारको खोजीमा नियमित जसो स्थानीय रेडियोमा सूचना प्रसारण गरिरहेका छौं’ क्षेत्रीय होटल संघका प्रवक्ता कार्कीले भने ‘विज्ञापन गर्दा पनि हामीले खोजेका कामदार पाइरहेका छैनौं ।’ कामदारकै लागि होटल व्यवसायीहरु आफूले चिनेजानेकालाई पनि सम्पर्क गराउन भनिरहेका छन् ।
होटलमा काम गर्ने स्थानीयस्तरमा जनशक्ति नपाएपछि काठमाडौंमा मेनपावर सप्लाई गर्ने कम्पनीहरुसम्म पनि होटल व्यवसायीहरु पुगेका छन् । त्यहाँ पुग्दा सम्पर्कमा आए पठाइदिने आश्वासन पाए तापनि सम्पर्कमा आउनेहरु ‘उपत्यका बाहिर त नजाने’ भन्ने खबर मात्र पाएको प्रवक्ता कार्कीले बताए ।
होटलमा खान बस्न दिएर पनि चलन चल्ती अनुसारकै तलब सुविधा दिएका छन् । तर पनि होटलमा काम गर्न भने जस्तो जनशक्ति पाउन नसकेको होटल कुवेरका सञ्चालक कुवेर थापाले बताए । केही वर्षयता भुकम्पले भत्केका संरचना पुनर्निर्माणमा धेरै जना त्यता लागेकाले पनि होटलमा काम गर्नेहरु नपाएको हुन सक्ने उनले बताए ।
दोलखाको चरिकोटमा मात्र ५० भन्दा बढी पर्यटकहरु बस्नयोग्य होटल छन् । त्यस्तै कालिञ्चोकको कुरीमा ४२ वटा होटल छन् । जिरी, सिंगटी लगायतका स्थानमा पनि यस्ता २ दर्जन जति होटल छन् । तर यि सबै होटलमा जनशक्तिकै अभाव छ ।
गाउँमा बेरोजगार युवाहरु धेरै छन् । तर सीपयुक्त दक्ष जनशक्तिको सधैँ अभाव रहेको छ । होटलहरु वृद्धिसँगै होटल व्यवस्थापन विषयमा चरिकोटको एक कलेजमा पढाइ पनि सुरु गरेको थियो । सुरुका वर्षमा त्यसप्रति आकर्षण भए तापनि पछिल्लो समयमा होटल व्यवस्थापन पढ्ने विद्यार्थी थोरै भएको हिम्स कलेज चरिकोटका निर्देशक प्रेमप्रसाद अधिकारीले बताए ।
‘होटल व्यवस्थापन पढ्नेहरु कतिपय अहिले पनि होटलमा काम गर्दै छन्’ उनले भने ‘केही विद्यार्थी माथिल्लो डिग्री हासिल गर्न लागे तापनि केहीले विषय नै परिवर्तन गरेका छन् ।’ काम गर्नेहरुमा व्यवसायिकता नहुँदा मान्छेले काम नपाउने र सञ्चालकले कामदार नपाउने समस्या भएको उनले बताए ।
सीमित मात्रामा रहेका होटल र कुकहरु होटल–होटल बीच एकअर्कामा तानातानको अवस्था समेत रहेको छ । होटल आशीर्वादका सञ्चालक प्रकाश बुढाथोकीले होटलमा कामदार नियमित रुपमा लिनका लागि व्यवसायीहरु पनि गम्भीर रुपमा छलफलमा लागेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF