अब सुर्तीजन्य वस्तुको छुट्टै पसल राख्नुपर्ने

 आवाज संवाददाता     २१ चैत्र २०७३, सोमबार

दोलखा, चैत २०

जुनसुकै पसलबाट बिक्री वितरण हुँदै आएको सुर्तीजन्य पदार्थ अबदेखि छुट्टै पसलबाट मात्रै बिक्री गर्न पाइने भएको छ ।
नेपाल सरकारले सुर्तीजन्य पदार्थलाई नियमन र नियन्त्रण गर्ने क्रममा दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसलबाट सुर्तीजन्य वस्तु बिक्री गर्न नपाउने व्यवस्था गरेको हो । नेपाल सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को कार्यान्वयन गर्ने क्रममा करिब एक महिनाअघि यस्तो निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार जुनसुकै पसलबाट बिक्री हुँदै आएको सुर्तीैजन्य पदार्थ बिक्री गर्नका लागि इजाजत पत्र लिनुपर्ने छ । इजाजत पत्र जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट लिनुपर्ने व्यवस्था छ ।
सुर्तीजन्य पदार्थ बिक्री गर्ने इजाजत पत्र प्राप्त गरेपछि कारोबारस्थल वा पसलको अगाडिको भाग वा बिक्रीकक्षको प्रवेशद्वारमा सजिलै देख्न मिल्नेगरी तोकिएको आकारको सूचनापाटीमा ‘१८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने वा बेच्न नलगाइने’ लेखिएको सूचना टास्नुपर्ने छ । त्यसैगरी ‘गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने’ सूचना टास्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहारकेन्द्र, बृद्धाश्रम, अनाथालय र तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने निर्णय सरकारले गरेको छ ।
सरकारको निर्णय कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय दोलखमा प्राप्त भएकोले सो निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउने सहायक प्रमसख जिल्ला अधिकारी बालकृष्ण कटवालले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF