अब वेदिङमा पनि मोबाइल फोन, पर्यटन विकास सघाउ

 आवाज संवाददाता     २४ चैत्र २०७३, बिहीबार

दोलखा, चैत २४/दोलखा जिल्लाको सबैभन्दा विकट गौरीशंकर गाविसको वेदिङमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन हुने भएको छ ।
पर्यटनको प्रचुर सम्भावना भएको र ३ हजार ७ सय ४५ मिटरको उचाइमा रहेको वेदिङमा स्याटेलाइट प्रविधिको टावर खडा गरी मोबाइल फोन सञ्चालन गर्न लागिएको हो । गौरीशंकर गाविसको वडा नं १ वेदिङमा मोबाइल फोनको लागि टावर राखेपछि वेदिङवासीहरुकै अन्य बस्तीहरु ना र निवारेमा पनि मोबाइल फोन सञ्चालन हुने भएको छ ।
गौरीशंकर हिमालको फेदीमा रहेको शेर्पा वस्तीमा मोबाइल सेवा जडान गर्नका लागि हिजो र आज दुई दिन लगाएर टावरको लागि आवश्यक सामान ओसारेको छ । नेपाली सेनाको हेलिकप्टरबाट पाइलटहरु प्रमुख सेनानीद्वय रवीन्द्र बहादुर बस्नेत र कौशल गुरुङको टोलीले विकट वेदिङमा सामान ओसारेका हुन् । अब छिटै वेदिङमा नमस्ते मोबाइल चल्ने नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले बताए । सामान ओसारिएसँगै टावर निर्माणको काम धमाधम भैरहेको छ ।


२०७२ को विनासकारी भूकम्पअघि ७२ घरधुरी भएको वेदिङमा अहिले ८४ घरधुरी रहेको छ । वेदिङभरिका ६० जना भन्दा बढी युवाहरुले सगरमाथाको सफल आरोह गरी वेदिङलाई आरोहीहरुको गाउँ भनेर चिनाएका छन् । यसबाट वेदिङ अझै पर्यटकीय महत्वको क्षेत्र बनेको छ । वेदिङका युवाहरुले विभिन्न कीर्तिमानसहित २ सय २२ चोटि सगरमाथा आरोहण गरिसकेको माउण्ट एभरेष्ट समिटर्स क्लबका पासाङ शेर्पाले जानकारी दिए ।
पर्यटकहरुको आकर्षणको केन्द्र भए पनि सञ्चारको साधन नहुँदा धेरै समस्या रहेको स्मरण गर्दै पासाङले मोबाइल सेवा भएपछि वेदिङमा अझ बढी पर्यटकहरु पुग्ने विश्वास व्यक्त गरे । साविक गौरीशंकर गाविस वडा नं १ का वडा अध्यक्ष नुर्वु शेर्पाले पनि मोबाइल सेवा सुरु भए पछि वेदिङको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ७२ वर्षका ङावासाङ्गे शेर्पाले ‘मोबाइल फोन चलाउन पाइने भइयो’ भनेर खुशी व्यक्त गरे ।
वेदिङमा पर्यटकहरु जाने मुख्य मौसम असोज–कात्तिक महिना हो । त्यो बेला वेदिङ उपत्यका पर्यटकहरुले भरिने साविक गौरीशंकर गाविसका सचिव खड्बहादुर आले बताउँछन् । वेदिङमा सञ्चार सुविधा भएपछि त्यहाँ पर्यटक अझ बढ्ने उनको पनि विश्वास छ । अहिले पनि वेदिङ गुम्बामा पूजापाठ गर्न दुई दर्जन बढी विदेशीहरु बसिरहेको सगरमाथा आरोही दावाछिरी शेर्पाले जानकारी दिए ।
वेदिङ गाउँ बहुचर्चित र जोखिमयुक्त च्छोरोल्पा हिमताल भन्दा तल पर्दछ । विष्फोटनको उच्च जोखिममा रहेको यो हिमताल विष्फोटन भएमा सूचना दिनका लागि अहिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले विभिन्न ठाउँमा साइरन राखेको छ । हिमताल विष्फोटनको सूचना प्रणालीलाई अझ विश्वासिलो र भरपर्दो बनाउन मोबाइल सेवा सुरु भएपछि एसएमएस प्रणाली पनि सुरु गरिने लक्ष्य रहेको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए । उनका अनुसार एसएमएस अलर्ट प्रणाली जडान गर्नका लागि युएनडीपीले उपकरण जडान गर्ने र नेपाल टेलिकमले सञ्चार सुविधा उपलव्ध गराउने सहमती भएको छ ।
वेदिङमा मोबाइल सेवा सुरु गर्नका लागि वेदिङमा नेपाल टेलिकमले एककरोडको लगानीमा टावर निर्माण गर्न लागेको हो । यो टावर निर्माणका लागि सामान ढुवानीमा मात्रै करिब ३० लाख खर्च भएको कार्यालय प्रमुख अर्यालले बताए । टावर निर्माण सम्बन्धी सम्पूर्ण काम भीएस एण्ड भी कम्युनिकेसन प्रा.लि. गरिरहेको त्यसका महाप्रबन्धक रुपक कुमारले जानकारी दिए । वेदिङमा स्याटेलाइट प्रविधिको टावर निर्माणपछि चरिकोट लगायतका ठाउँमा मोबाइल नेटवर्क नहुँदा पनि बेदिङमा मोबाइल फोन चल्ने नेपाल टेलिकमका वरिष्ठ प्राविधिक सुरत मल्लले बताए ।
दोलखा जिल्लाको अर्को विकट लामाबगर गाविसको लप्ची बाहेक जिल्लाको सबै ठाउँमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम दोलखाले जनाएको छ । जिल्लामा टेलिफोन सुसञ्चालन गर्न १७ वटा टावरहरु निर्माण भैसकेका छन् । ५ वटा टावरहरु तत्कालै निर्माणको चरण रहेका छन् । टेलिकमले दोलखा जिल्लाबाट वार्षिक १ करोड २५ लाख रुपैयाँको कारोबार गर्दै आएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।