सशस्त्र प्रहरीको गाडी दुर्घटनामा एकको ज्यान गयो, डीएसपी सहित २ घाइते (अपडेट)

 आवाज संवाददाता     २८ चैत्र २०७३, सोमबार

दोलखा, चैत २८, दोलखाको लामाबगरबाट चरिकोट आउँदै गरेको बा ९ च ९३६० नं को गाडी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने २ घाइते भएका छन् । आज विहान ८ बजेतिर कालिन्चोक गाउँपालिकाको झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शम्भुजंग थापा सहित २ घाइते भएका छन् । भने चालक सशस्त्र प्रहरी हवल्दार मोहन घिमिरेको ज्यान गएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ लामाबगरमा बसेको सशस्त्र प्रहरी बल बेस क्याम्पले चलाउँदै आएको आयोजनाको गाडी दुर्घटना हुँदा डीएसपी थापासँगै उनका वडीगार्ड शिव कसवार माझी घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएकोे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
घाइतेहरुको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । दुर्घटनामा तीनै जना गम्भीर घाइते भएको र चालकको अवस्था झन गम्भीर थियो । चालकलाई उपचारको लागि लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाडी तिव्र गतिकै कारण दुर्घटना भएको हुन सक्ने डीएसपी कार्कीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।