नेउवा महासंघ सदस्यमा दोलखाका सुदर्शन कार्की विजयी

 आवाज संवाददाता     ३० चैत्र २०७३, बुधबार

दोलखा, ३० चैत
नेपाल उद्योग वाणिज्य महासंघको १५ औं साधारण अधिवेशनबाट दोलखाका व्यवसायी सुदर्शन कार्की सदस्यमा विजयी भएका छन् । दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कार्की किशोर प्रधान प्यानलबाट जिल्ला नगर समूहबाट सदस्यमा उम्मेद्वारी दिएका थिए ।
प्रधान प्यानलबाट कार्की सहित २ जना मात्र विजयी भएका हुन् । दोलखाका कार्की र तनहुँका देवकुमार श्रेष्ठले ५७ मत बराबर ल्याएपछि गोलाप्रथाबाट सदस्य छान्नु पर्ने भएपछि आधा–आधा कार्यकाल सदस्य रहने गरी दुवै जनाको सहमति भएको छ । सहमति अनुसार कार्कीले पहिलो डेढ वर्ष सदस्य हुने छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष सहितका पदमा निर्वाचन भएको हो । मंगलबार भएको मतगणना अनुसार
वरिष्ठ उपाध्यक्षमा विजयी शेखर गोल्छा तीन वर्षपछि महासंघको स्वत अध्यक्ष हुनेछन् । गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मतान्तरले जितेका छन् ।
शेखरले एशोसिएट र जिल्ला दुई क्षेत्रमा प्रधानले भन्दा बढी मत पाए भने वस्तुगतमा किशोरले बढी मत पाए । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि प्राप्त हुने मतलाई तीन भागमा विभाजन गरिन्छ ।
त्यसमध्ये जिल्लाको मत भार ५० प्रतिशत हुन्छ भने एशोसिएटको मतभार ३० प्रतिशत र वस्तुगतको मतभार २० प्रतिशत हुन्छ । जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत पाए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए ।
भवानी राणाले नेतृत्व गर्ने महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर हुनेछन् । एशोसिएटबाट यसअघि नै चन्द्र ढकाल निर्विरोध निर्वा्चित भैसकेका थिए । वस्तुगतबाट उमेशलाल श्रेष्ठ उपाध्यक्ष भएका छन् भने जिल्लाबाट प्रमोद श्रेष्ठ उपाध्यक्ष बनेका छन् । महासंघको हाइप्रोफाइल पाँच पोस्टमध्ये प्रमोद मात्रै एक जना प्रधान समूहबाट विजय भएका छन् ।

अब महासंघको स्वरुप यस्तो हुनेछ

अध्यक्षः भवानी राणा
वरिष्ठ उपाध्यक्षः शेखर गोल्छा
एशोसिएट उपाध्यक्षः चन्द्र ढकाल
जिल्ला नगर उपाध्यक्षः प्रमोद श्रेष्ठ
वस्तुगत उपाध्यक्षः उमेशलाल श्रेष्ठ

कोषाध्यक्षस् महासंघको कार्यकारिणीको बहुमतबाट चुनिने । कार्यकारिणीमा गोल्छा समूहको बहुमत भएका कारण यो समूहबाट कोषाध्यक्ष प्रस्तावित ज्ञानेन्द्रलाल श्रेष्ठ कोषाध्यक्ष हुने सम्भावना बढी छ।

वस्तुगतबाट सदस्य
अञ्जन श्रेष्ठ, सन्दिपकुमार अग्रवाल, प्रकाशसिंह कार्की, सकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, आकाश अधिकारी, विनोद ढकाल, तिलचन्द्र भट्टराई, कमला श्रेष्ठ, जयप्रकाश सिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल ।

वस्तुगतमा चार जना खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठले समान ५० अंक प्राप्त गरेका छन्। यी चार जनामध्ये गोलापर्थाबाट दुई जना मात्रै सदस्य निर्वा्चित हुनेछन् ।

जिल्ला नगरका सदस्य
उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ (नेपालगञ्ज), दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची), ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्साद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF