दोस्रो विश्वयुद्धपछि बनेको ‘वर्ल्ड अर्डर’मा परिवर्तन

 आवाज संवाददाता     १२ असार २०७३, आईतवार

युरोपियन युनियन (इयु)बाट अलग हुने बेलायती जनमत संग्रहको निर्णयले विश्वका प्रमुख वित्तीय केन्द्रहरुलाई झट्का दिएको छ।

बेलायतबाट नर्दन आयरल्याण्ड र स्कटल्यान्ड राज्यहरु टुक्रने त्रास फैलिएको छ भने इयुका अन्य राष्ट्रमा समेत जनमत संग्रहको माग बढ्ने र इयुबाट टुक्रँदै जाने सम्भावना बढेको छ।

क्षेत्रीय संगठनमार्फत बनेको विश्वकै सबैभन्दा ठूलो साझा व्यापारिक क्षेत्र इयु टुक्रने पक्का भएपछि अन्तराष्ट्रिय हलचल पैदा भएको छ।

तर, बेलायती जनमत संग्रहको परिणाम त्यतिमा मात्र सीमित छैन। दोस्रो विश्वयुद्धपछि अमेरिका र उसका मित्र राष्ट्रहरुले निर्माण गरेको विश्वव्यवस्था भत्कँदै गएको संकेत गरेको छ। त्यसले पश्चिमी जगतलाई झनै चिन्तित बनाएको छ।

युरोप कमजोर बन्दै गएको छ भने र चीन सशक्त रुपले उदाउँदैछ।

बेलायतमा जनमत संग्रह भएको दुई दिन पहिले चीनको एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षले घोषणा गरेका थिए, ‘विश्व इतिहासमा एक मात्र साम्राज्यले विश्वभरि राज गरेको कुनै नजिर छैन।’

वर्तमान विश्व व्यवस्था र स्थायित्वको केन्द्रमा रहेको एक प्रमुख राष्ट्र बेलायतबाट नै उक्त व्यवस्थामा प्रहार भएको छ।

न्युयोर्क टाइम्समा शनिबार प्रकाशित जिम यार्डले, अलिसान स्माले, जान पेरिज र बेन ह्युबर्डद्वारा लेखिएको एक संयुक्त लेखले ‘वर्ल्ड अर्डर’मा पछिल्लो चरणमा आएका कयौं बदलावको एक घोत्तकका रुपमा बेलायतको कदमलाई लिएको छ।

अब विश्वव्यापी रुपले राजनीतिक तथा आर्थिक सम्बन्धहरु मात्र होइन, वैचारिक र देशका सीमामा समेत परिवर्तन आउने सङ्केत उक्त जनमत संग्रहले गरेको उनीहरुले बताएका छन्।

पश्चिमी उदारवादी मुलुकहरुमा सुस्त भएको आर्थिक वृद्धिका कारण उनीहरुमा आत्मविश्वास घट्दै गएको छ। व्यापारिक क्षेत्रमा परिवर्तन आएको परिवर्तन र बढ्दो आप्रबासका कारण उनीहरु समस्यामा पर्दै गएका छन्।

पश्चिमी देशहरुमा ‘पप्युलिज्म’ हावी हुँदैछ भने मध्यपूर्वमा मानिसहरु राज्यका सीमाले होइन, साम्प्रदायिक रुपले बढी विभाजित छन्। चीनको प्रभाव र आत्मविश्वास बढ्दै छ भने रसियाले चातुर्यता देखाउँदै विश्व रंगमञ्चमा आफूलाई प्रस्तुत गरेको छ। सम्पन्न र सुखी जीवनको खोजीमा ठूलो संख्यामा मानिसहरु बसाइँ सर्दैछन्। यस्ता परिवर्तनका कारण दोस्रो विश्वयुद्धपछि विकसित भएका अन्तराष्ट्रिय संस्थाहरुले बढ्दो चुनौती सामना गर्दैछन्।

विश्व शान्ति, स्थायित्व, सुरक्षा र विकासका निम्ति निर्माण भएका संस्थाहरुमा महत्वपूर्ण जिम्मेवारी पाएको थियो बेलायतले। उसले युएन, आइएमएफ, नेटो र वर्ल्ड बैंकजस्ता संस्थाहरुमा आफ्नो सामर्थ्यभन्दा पनि बढी भूमिका पाएको थियो। तर पनि खुसी हुन सकेन बेलायत। जनमत संग्रहमार्फत बेलायतले चालेको कदमले उक्त विश्व व्यवस्थामा दरार आएको संकेत गरेको छ।

चर्को राष्ट्रवाद र अस्वस्थ्य प्रतिस्पर्धाका कारण लामो समयसम्म हिंसात्मक युद्धमा फँसेका थिए युरोपका शक्तिहरु। दोस्रो विश्व युद्धपछि राष्ट्रहरुबीच संगठन तथा सहकार्य निर्माण गर्ने र राष्ट्रवादको भावना कमजोर बनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो।

तर, आज आएर बेलायतको उक्त कदमले उक्त मान्यता कमजोर भएको प्रष्ट पारेको छ। पश्चिमी देशहरुमा राष्ट्रवादी भावना प्रवल बन्दै गएको र एकता खण्डित हुँदै गएको देखिएको छ।

कमजोर र समस्यामा फँस्दै गएका पश्चिमा राष्ट्रहरुको अवस्थासँगै बढ्दै गएको छ चीनको सामर्थ्य। बेलायतले जनमत संग्रह घोषणा गरेको दुई दिन अघिमात्र चीनको राजधानी बेइजिङमा एसियाली पूर्वाधार लगानी बैंकको पहिलो बैठक सम्पन्न भएको थियो।

५७ सदस्य राष्ट्रका प्रतिनिधि उपस्थित भएको उक्त बैठकमा नै बैंककाका अध्यक्ष जिन लिक्वाले विश्व इतिहासमा एक मात्र साम्राज्यले विश्वभरि राज गरेको कुनै नजिर नभएको घोषणा गरेका थिए।

आईएमएफ र विश्वबैंकबाट अलग रहेर विश्वभरि प्रभाव विस्तार गर्नका निम्ति चीनले उक्त बैंकको स्थापना गरेको हो।

त्यसै समयमा चीनले छोटो समयका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत राजकीय भ्रमणमा निम्ता गरेको थियो। युक्रेनको क्रिमियामा आक्रमण गरेर युरोपसँग शत्रुतापूर्ण सम्बन्ध निर्माण गरेका पुटिनका निम्ति बेलायती जनमत सङ्ग्रह एक ‘अनपेक्षित उपहार’ भएको पश्चिमी राष्ट्रका विश्लेषकले बताएका छन्।

उसो त अमेरिकी नेतृत्वमा रहेको विश्वव्यवस्था  २००८ को आर्थिक मन्दीका कारण नै पतन हुने धेरैको अनुमान थियो। चीनको बढ्दो समृद्धिका कारण नयाँ शताब्दीलाई ‘चिनियाँ शताब्दी’ पनि भन्ने गरिएको थियो।

तर अमेरिका उक्त आर्थिक मन्दीबाट विस्तारै उठ्दै गयो। उता चीन भने आक्रामक एसिया नीतिमार्फत आफ्नो प्रभाव विस्तार गर्नतर्फ लाग्यो। त्यसैको जवाफस्वरूप अमेरिकाले नयाँ नीति लियो – ‘पिभोट टु एसिया’। त्यस अन्तर्गत अमेरिकी नीति एसियामा संग्लग्न रहने भन्ने थियो।

अमेरिकी नीति भनेको मध्यपूर्वमा आफ्नो दशकौं लामो र महँगो संग्लाग्नताबाट छुटकारा पनि थियो। तर त्यसै समयमा इराक युद्ध, अरब स्प्रिङ र त्यसले ल्याएको अस्थिरताका कारण मध्यपूर्व तहसनहस भएको थियो।उक्त अस्थिरता मध्यपूर्वमा मात्र सीमित रहेको थिएन। मानवीय संकटका कारण त्यहाँबाट शरणार्थी इयु देशहरुतर्फ लागेपछि त्यसले युरोपमा निकै ठूलो भू-राजनीतिक समस्या ल्यायो र बेलायतमा जनमत सङ्ग्रहलाई असम्भावी बनायो।

इयु विकसित हुँदै गएको क्षेत्रीय संगठन हो। त्यहाँ पहिलेदेखि नै विभिन्न समस्या थिए। तर ग्रीस र बाल्कन हुँदै जर्मनीतर्फ लागेका लाखौं शरणार्थीका कारण समस्या गहिरियो।

इयुभित्रका देशहरुबीच खुला सीमा भए पनि शरणार्थीका कारण त्यहाँका देशहरुले सीमामा तार र पर्खालहरु निर्माण गर्न थाले। आप्रवासविरुद्धको ‘जनप्रिय’ राजनीति सुरु भयो। बेलायतले इयु छाड्नुपर्ने मान्यता राख्ने पक्षधरले बेलायत शरणार्थीबाट घेरिएको भन्दै त्रास फैलाउन थाले। युरोपका गरिब देशहरुबाट भएको आप्रबास र मुस्लिम देशहरुबाट हुनसक्ने सम्भावित आप्रबासलाई इयु बिरोधी जनमत निर्माण गर्न प्रयोग गरियो।

क्रिमिया घटनापछि रसिया वरिपरिका देशहरुले त्रास महसुस गर्छन्। बेलायत नेटोको महत्वपूर्ण देश हो। तर इयुबाट अलग भएर आर्थिक रुपले कमजोर भएपछि बेलायतमा सैन्य सामर्थ्यमा कटौती गर्ने माग बढ्ने छ। अर्कोतर्फ अमेरिकाले नेटोमा धेरै खर्च गर्ने गरेको र अन्य सदस्य राष्ट्रले सामर्थ्य अनुसारको खर्च गर्नुपर्ने माग अमेरिकामा बढेको छ। रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपति उमेद्वार बन्ने तयारी गरेका डोनाल्ड ट्रंम्पले उक्त कुरालाई चुनावी मुद्धा बनाएका छन्।

बेलायत इयुबाट पछि हटेपछि उक्त क्षेत्रलाई एकढिक्कामा राख्ने र अन्तराष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने जर्मनी हो। तर, विश्वयुद्धका समयमा जर्मनीले पाएको झट्का तथा ‘नाजी’ विगतका कारण जर्मनीले कुनै नेतृत्वदायी भूमिका खेल्न हच्किने गर्छ।

आज एसियामा युरोपको भन्दा बढी निजी सम्पति छ। बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार अहिले र २०१९ का बीच एसियामा हुने आर्थिक बृद्धिको ७० प्रतिशत चीनमा मात्र हुनेछ।

एसियाका नेताहरुले इयुको एकता लामो समय टिक्ने छैन भन्दै आएका थिए। आज इयु भत्किएको छ। यसले दोस्रो विश्व युद्धपछिको विश्व व्यवस्था भत्कँदै गरेको र नयाँ बन्दै गरेको संकेत गरेको छ। नयाँ विश्व व्यवस्थामा उदाउने छन् एसिया र चीन।

(जिम यार्डलेअलिसान स्मालेजान पेरिज र बेन ह्युबर्डद्वारा लेखिएको संयुक्त लेख ‘ब्रिटेन रयाटल्स पोस्टवार अर्डर एण्ड इट्स प्लेस एज पिलर अफ स्ट्यावीलिटि’ र अन्य लेखहरुमा आधारित)

Source: Setopati

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।