कालिञ्चोकमा पर्यटकको भरिभराऊ

 आवाज संवाददाता     २ बैशाख २०७४, शनिबार

दोलखा, २ बैशाख
आन्तरिक पर्यटकहरुको रोजाईमा कालिञ्चोक पर्न थालेको छ । नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकहरुले कालिञ्चोक भरिभराऊ भएको छ । एकै दिन १० हजार बढी कालिञ्चोक पुगे ।
नयाँ वर्ष मनाउनका लागि काठमाडौं र तराईका जिल्लाबाट सबैभन्दा बढी पर्यटकहरु कालिञ्चोक पुगेका हुन् । पहिलो पटक कालिञ्चोक आएर फर्केका पर्यटकहरु पनि यात्रा असाध्यै रमाइलो भएको प्रतिक्रिया दिए ।
विदा र नयाँ वर्ष समेत परेकाले परिवार सहित र साथीभाइ सहित कालिञ्चोकमा पर्यटकहरु आएका छन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकन समेत गर्न पाइने हुँदा कालिञ्चोकमा पर्यटकहरु क्रमशः वृद्धि भइरहेका छन् ।
चरिकोटबाट कालिञ्चोक पुग्ने कुरीसम्मको सडक समेत स्तरोन्नती भइरहेको कारण पनि पर्यटकहरुलाई कालिञ्चोक जान सहज भएको छ । कालिञ्चोकमा सुविधा सम्पन्न होटलहरु पनि बढ्दै छन् । त्यसैले पनि कालिञ्चोकमा खाना बस्नको असहज छैन ।
समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिन्चोक धार्मिक दृष्टिले मात्र नभइ प्राकृतिक रुपमा पनि मनोरम छ । कालिन्चोक मन्दिर टाकुराबाट रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । कालिन्चोक भगवती मन्दिरको दर्शनबाट मनोकामना पूरा हुने जनविश्वास रहेको छ । कुरीबाट कम्तीमा एक घण्टामा र घ्याङडाँडाबाट आधा घण्टामा कालिन्चोक टाकुरो पुग्न सकिन्छ ।
कालिञ्चोकमा राजधानीबाट सबैभन्दा बढी पर्यटकहरु आउने गरेका छन् । काठमाडौंबाट आउने पर्यटकहरु कालिञ्चोक र भीमेश्वर मन्दिर दर्शनको प्याकेज नै बनाएर आउने गरेको कालिञ्चोकका अर्का होटल सञ्चालक सोनाम शेर्पाले बताए ।
कालिञ्चोकमा तराई जिल्लाहरुबाट समेत गाडी रिर्जभ गरी आउन थालेका छन् । कालिञ्चोकमा केबुलकार बन्ने योजनाले पर्यटकहरु झन हौसिएका छन् । कालिञ्चोकको कुरीदेखि मन्दिर नजिकसम्म दसैंसम्म तयार हुने गरी केबुलकार निर्माणको काम जारी छ ।
हिउँदमा बेला बेलामा पर्ने हिउँको मज्जा लिन पनि पर्यटकहरु कालिञ्चोक पुग्ने गरेका छन् । एक पटक परेको हिउँ कम्तिमा एक सातासम्म रहने गरेको छ । बसन्त ऋतुमा गुँरासका थरीथरीका फूलहरुले पनि पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।
पर्यटकहरु बढेसँगै विदाको दिनमा होटल व्यवसायीहरुलाई खाना खुवाउनमै व्यस्त छन् । विदा मनाउन आउने पर्यटकहरुका लागि व्यवसायीहरु खाना र खाजा खुवाउन विहानदेखि भ्याई नभ्याई हुने होटल व्यवसायी चन्द्र लामाले बताए ।
नयाँ वर्ष मनाउन अघिल्लो दिनमै पर्यटकरु कुरी पुगेर १५ सय जति पर्यटकहरु बास बसेका थिए । कुरीमा ४२ वटा साना ठूला होटलमा १५ सय जतिलाई बास राख्न सक्ने व्यवस्था छ । त्यस्तै बैशाख १ गते विहानै देखि साँझसम्म कालिञ्चोक जाने र आउनेको भीड नै भयो ।
बैशाख १ गते नयाँ वर्ष र २ गते शनिबार समेत परेकाले २ गते समेत कालिञ्चोक पुग्नेको भीड उत्तिकै रहेको कालिञ्चोकका होटल व्यवसायीहरु बताउँछन् । नयाँ वर्षको दिन र शनिबार(आज) कालिञ्चोक जाने बाटो नै भीड छ । कुनै ठाउँमा बाटो समेत पाउन मुस्किल रहेको बताउँछन् ।
कालिञ्चोक जाने पर्यटकहरुकै कारण चरिकोटका होटल समेत भरिभराउ भए । चरिकोट बस्ने र विहान दोलखा भीमेश्वर मन्दिर दर्शन गरेर कालिञ्चोक दर्शन गरी फर्कनेहरु बढी छन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF