दोलखामा विद्यार्थी भर्ना अभियान सुरु

 आवाज संवाददाता     ३ बैशाख २०७४, आईतवार

दोलखा, बैशाख ३

‘हाम्रो इच्छा, अनिवार्य, निशुल्क आधारभूत शिक्षा’ भन्ने मुल नाराका साथ दोलखा जिल्लामा भर्ना अभियान सुरु भएको छ ।
कालिन्चोक मावि चरिकोट र जिल्ला शिक्षा कार्यालय दोलखाको संयुक्त आयोजनामा शैक्षिक वर्ष २०७४ का लागि विद्यार्थी भर्ना अभियान तथा स्वागत कार्यक्रम सुरु गरिएको हो ।
कालिन्चोक मावि प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछ्वाले सोही विद्यालयको शिशुकक्षाका सविन खत्री र कक्षा १ का पविन थामीलाई किताव, कापी, स्टेशनरी लयागतका शैक्षिक सामग्री वितरण गरी भर्ना अभियानको सुरुवात गरे । भर्ना अभियानको सुरुवात गर्दै जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछ्वाले विद्यालय बाहिर रहेका करिब ३ प्रतिशत बालबालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि देशभर विद्यार्थी भर्ना अभियान चलाएको बताए । उनले विद्यार्थी भर्ना अभियानसँगै शिक्षक, विद्यार्थी, अभिभावक र राज्यको संयुक्त प्रयासबाट विद्यार्थी सिकाइ उपलव्धी बृद्धि गर्न लाग्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न भर्ना अभियान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले अभियानबारे जानकारी गराएका थिए ।
यसअघि कालिन्चोक मावि, पशुपति कन्या मन्दिरका विद्यार्थीहरु तथा शिक्षक, जिल्ला शिक्षा अधिकारी लगायत विभिन्न स्रोतकेन्द्रका स्रोतव्यक्तिहरुले ‘भर्ना अभियान सफल पारौँ, शिक्षा हाम्रो अधिकार’ लगायतका नारासहित चरिकोट बजारमा प्रभातफेरि गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।