दोलखामा करिब २ तिहाइ बजेट खर्च

 आवाज संवाददाता     ७ बैशाख २०७४, बिहीबार

दोलखा, ७ बैशाख
समयमा बजेट खर्च गर्न नसकेको भन्दै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीहरुले पनि माताहातका निकायलाई ताकेदा गरिरहेको अवस्थामा दोलखाका कार्यालयहरुले बजेट खर्च उल्लेख्य रुपमा गरेका छन् । कुल बजेट खर्चको दोलखाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै २ तिहाइ हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक खर्चको जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सरकारकोभन्दा दोब्बरले खर्च गरेको जानकारी दिए । दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीका अनुसार दोलखाका सरकारी कार्यालयहरुले चैत मसान्तसम्म ६३ प्रतिशत खर्च गरेको जानकारी दिए ।
बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा जिल्ला विकास समितिको कार्यालय रहेको कोलेनिको प्रतिवेदनमा रहेको छ । प्रतिवेदन अनुसार जिविस दोलखाले ९४.४७ प्रतिशत, कोलेनिकाले ९४.२३ प्रतिशत, इलाका प्रहरी कार्यालय जिरेले ९३ प्रतिशत र जिल्ला प्रहरी कार्यालयले ९० प्रतिशत खर्च गरेका छन् ।
त्यस्तै बढी खर्च गर्नेमा जिल्ला निर्वाचन कार्यालय, मालपोत, सडक डिभिजन कार्यालय लगायत रहेका छन् । त्यसैगरी कम खर्च गर्ने विकासे कार्यालयहरमा जिल्ला प्राविधिक कार्यालय, भुकम्पीय आवास पुर्ननिर्माण आयोजना, गौरीशंकर संरक्षण क्षेत्र आयोजना दुर्गम क्षेत्र विकास समिति लगायतका कार्यालयहरु रहेका छन् ।
दोलखामा चालु खर्च तर्फ ६ अर्ब १२ करोड २० लाख ४४ हजार अख्तियारी आएकोमा ६७.९२ प्रतिशत अर्थात ४ अर्ब १५ करोड ८० लाख १८ हजार ९४१ खर्च भएको छ । त्यसैगरी पुँजीगत तर्फ १ अर्ब ९६ करोड ५६ लाख ५२ हजार अख्तियारी आएकोमा ४७.३८ प्रतिशत अर्थात ९३ करोड १३ लाख १२ हजार ४६२ खर्च भएको छ ।
प्रमुख कोष नियन्त्रक शिवाकोटीले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकाले पनि बढी खर्च भएको देखिएको बताए । भुकम्प पीडितहरुको आवास निर्माणको पहिलो किस्ता चालु आवमै निकासा भएको हो । भुकम्प पीडितको पहिलो किस्ता निकासाले पनि जिविसको खर्च बढी भएको देखिएको उनले बताए । जिविसको आफ्नै कार्यालयगत बजेट खर्च भने थोरै रहेको छ ।
कोलेनिकाको अनुसार पुन निर्माण प्राधिकरणको निजी आवास अनुदान तर्फ हालसम्म ४७ हजार ७ सय ९५ जनालाई पहिलो किस्ता र १ हजार ८८ जनालाई दोस्रो किस्ता भुक्तानी भएको छ । जबकी देशभर दोस्रो किस्ता लिनेको संख्या १ हजार ८ सय मात्र छन् । तर साविकको शैलुङ र भड्पूको कोही पनि भुकम्प पीडितसँग सम्झौता नै हुन सकेको छैन ।
दोलखाका २५ वटा कार्यालयले चालु आवको ९ महिनाको अवधीमा १३ करोड ५५ लाख ४८ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिए । कोलेनिकाले अघिल्लो त्रैमासदेखि पत्रकार सम्मेलन गरी आफ्नो कार्यालयको तर्फबाट सरकारी आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।