स्थानीय तहको निर्वाचन, छाडे दर्जन बढी शिक्षकले जागिर

 आवाज संवाददाता     ८ बैशाख २०७४, शुक्रबार

दोलखा, ८ बैशाख
स्थानीय तहको निर्वाचनको मिति नजिकीदै गर्दा सररकारी जागिरेहरुले पनि जागिर छाड्न थालेका छन् । शिक्षक नै भएर राजनीतिमा सक्रिय हुँदै आएका नेताहरु स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बन्नका लागि जागिर छाड्न थालेका छन् ।
जिल्ला शिक्षा कार्यालय दोलखामा शुक्रबारसम्ममा १३ जना शिक्षकहरुको राजिनामा स्वीकृति भइसकेको छ । त्यसमध्ये ११ जना स्थानीय निर्वाचनमा उम्मेद्वारम बन्नकै लागि जागिर छाडेको हुन सक्ने जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवाले बताए ।
राजिनामा स्वीकृत भएका शिक्षकहरुमा हलेश्वर मावि सुरीका सोयमबहादुर खड्का, पृथ्वीनारायण आवि बोचका जिवसराज खड्का, सिद्धेश्वरी आवि मागापौवाका भीमप्रसाद सुवेदी, महेन्द्र मावि च्यामाका झनकबहादुर फुयाल रहेका छन् ।
त्यसैगरी वैत्यश्वर मावि नाम्दूका रविचन्द्र आचार्य, नवज्योती आवि सुरीका डिल्लीध्वज बस्नेत, कालिका मावि नाम्दूका पुस्करबहादुर कार्की, जनव्योती मावि लापिलाङका शम्भु थामी, कैलेश्वरी आवि गैरीमुदीका वृषबहादुर तमाङ, हुलाक आवि चंखु का पेम्बा शेर्पा र कालिदेवी आवि जुँगूका झलककुमार कार्की रहेका छन् ।
नेत्रज्योती आवि काब्रेका शंकरप्रसाद दाहाल र सिद्धेश्वरी आवि भेड्पूका काजिराम खड्काको राजिनामा पनि स्वीकृत भएको छ । भीरकोटका केशव काफ्ले र श्यामाका भीमलाल शेपाएले पनि राजिनामा दिएका छ् । तर यि दुई शिक्षक भने निर्वाचनका लागि राजिनामा नभएको जिशिअ काशिछवाले बताए । राजिनामा दिने १५ शिक्षकहरु मध्ये रविचन्द्र आचार्य बाहेक सबै आधारभूत (साविकको प्रावि) तहका शिक्षकहरु रहेका छन् । आचार्य भने मावि तहका प्रथम श्रेणीका शिक्षक हुन् ।
राजिनामा दिएका शिक्षकहरु मध्ये सोयम खड्का एमालेबाट गौरीशंकर गाउँपालिका प्रमुखमा हुने भएका छन् । एमाले आर्थिक विभाग प्रमुख रहेका जिवसराज खड्काको तामाकोसी गाउँपालिका प्रमुखमा दाबी छ । त्यस्तै रविचन्द्र आचार्यलाई नेकपा माओवादी केन्द्रले वैत्यश्वर गाउँपालिका प्रमुखमा उम्मेद्वार बनाउने भएको छ ।
ट्रेड युनियनमा लागेका २३३ शिक्षकले बुझाए नामावली
निर्वाचनका लागि आवश्यक कर्मचारी निजामती कर्मचारी र शिक्षकहरुबाट परिपूर्ती गर्ने भएकाले सम्बन्धीत कार्यालयबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयले नामावली मागि रहेको बेला २३३ शिक्षकले आफूहरु निर्वाचनको काममा नजाने आशयको नामावली बुझाएका छन् ।
निर्वाचनमा खटिने शिक्षक तथा कर्मचारीहरु ट्रेड युनियन संगठनको जिल्ला र केन्द्रीयस्तरको कार्यकारीणी समितिमा नबसेको हुनु पर्ने व्यवस्था छ । यस्तो व्यवस्था भएपछि शिक्षकका संघ संगठनहरुले आफ्नो संगठनका कार्यकारीणी समितिमा २३३ शिक्षक रहेको नामावली बुझाएका हुन् ।
शिक्षक संघ संगठनले बुझाएको नामावली अनुसार राष्ट्रिय शिक्षक संगठनले ५७ जना, नेपाल शिक्षक महासंघले ३५ जना, एकीकृत अखिल शिक्षक संगठनले २९ जनाको नामावली बुझाएको छ । नेपाल शिक्षक संघले भने १८ जना जिल्ला कार्यसमिति र ७२ जना नगर तथा गाउँपालिकास्तरका संगठनमा रहेको नामावली बुझाएको हो । तर शिक्षा कार्यालउ स्रोतले शिक्षक संघको १८ जना मात्र जिल्ला संगठनमा रहेकाले बाँकीलाई निर्वाचन प्रयोजनका लागि खटाउन सकिने बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF