एमालेमा उम्मेद्वार टुङ्गो लगाउनै सकस

 आवाज संवाददाता     ८ बैशाख २०७४, शुक्रबार

दोलखा, ८ बैशाख

नेकपा एमालेलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरु टुङ्गो लगाउँनै सकस भएको छ । स्थानीय वडा र नगर तथा गाउँपालिकाबाट आएका सिफारिस बैशाख ५ गतेको जिल्ला कमिटीको बैठकले समेत टुङ्गो लगाउन नसकेपछि वर्तमान र पूर्व पार्टी प्रमुखहरुको ६ जनाको समिति बनाएर जिम्मा लगाए तापनि उनीहरुले नसकेपछि पुनः स्थानीयस्तरमा नै जिम्मेवारी फिर्ता भएको छ ।
एमाले दोलखाको जिल्ला कमिटीले पोलिट्व्यूरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, लालकुमार केसी, आनन्द पोखरेल, शिव भण्डारी र अध्यक्ष इश्वरचन्द्र पोखरेललाई जिम्मा लगाएका थिए । ५ दिनदेखि लगातार रुपमा ६ जनाको बैठक बसेर छलफल गरे तापनि अन्तिम उम्मेद्वारको नाममा सहमति हुन नसक्दा पुनः सहमतिका लागि स्थानीय वडा र नगर तथा गाउँपालिकामा फिर्ता गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
बैठकमा धेरैमा सहमति नजिक पुगे तापनि मुख्य गरी भीमेश्वर नगरपालिका र वैत्यश्वर गाउँपालिकाको प्रमुखमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको हो । चरिकोटको एक होटलमा लगातार छलफलका लागि नेताहरु बसे तापनि बाहिर आकांक्षी उम्मेद्वारहरु विभिन्न अड्कलबाजी गर्दै बसेका थिए ।
एमालेको भीमेश्वर नगरपालिका प्रमुखमा एक दर्जन आकांक्षीहरु रहेका छन् । त्यस्तै कालिञ्चोक गाउँपालिकामा ५ जना, विगूमा ४ जना, वैत्यश्वरमा ६ जना, तामाकोसीमा ४ जना, मेलुङमा ३ जना, शैलुङमा ४ जना मुख्य आकाक्षींका रुपमा रहेका छन् । गौरीशंकर गाउँपालिकामा सोयमबहादुर खड्का र उर्मिला थामीलाई यस अघि नै स्थानीयस्तरबाट सर्वसम्मत निर्णय गरेको छ । त्यसैगरी जिरी नगरपालिकाको प्रमुखमा काँग्रेसबाट भित्र्याइएका नेता टंक जिरेललाई नै पूर्व सहमति अनुसार मेयर बनाउने भएको छ । केही वडा बाहेक अधिकाँश वडामा समेत सहमति हुन सकेको छैन ।
एमालेले नगरपालिका तथा गाउँपालिकाको प्रमुख उपप्रमुख प्रदेश कमिटीले टुङ्गो लगाउने भने तापनि दोलखाको पार्टी प्रदेशमा नपठाउने भन्दै नेताहरु छलफलमा बसे तापनि ५ दिनसम्मको बसाइमा असफल भएको एक नेताले बताए ।
एमालेले बैशाख ११ सम्ममा उम्मेद्वारको नाम टुङ्गो लगाउने भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।