काँग्रेसले भीमेश्वरमा इश्वर मानन्धरलाई मेयर उठाउने

 आवाज संवाददाता     ९ बैशाख २०७४, शनिबार

दोलखा, ९ बैशाख
नेपाली काँग्रेसले भीमेश्वर नगरपालिकामा इश्वर मानन्धरलाई मेयर उठाउने निर्णय गरेको छ । पार्टीले निर्णय गरे लगत्तै मत माग्नको लागि मानन्धर टोलीलाई नेताहरुले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शुभकामना दिएका छन् ।
दोलखाको सदरमुकाम समेत रहेकाले भीमेश्वर नगरपालिका विशेष महत्वको क्षेत्रको रुपमा रहेको छ । मेयरको टिकट पाए लगत्तै मानन्धर टोली शनिबारै मतदाताको घरदैलो अभियानमा निश्किएका छन् । शुक्रबार उनी भीमेश्वर १ (साविक सुस्पाक्षमावती) पुगेका छन् ।
यस अघि पनि मानन्धर टोलीले नगरपालिकाको सबै वटा र टोलमा समेत चुनावी कार्यक्रम सम्पन्न गरी सकेको छ । एक चरण सबै वडामा पुगेपछि काँग्रेसले स्थानीय निर्वाचनमा जित्ने पक्का जस्तो देखेपछि उम्मेद्वारै बनेर मतमाग्न निस्केका हुन् ।
भीमेश्वर नगरपालिकामा नेकपा एमालेले आफूलाई बलियो भएको बताइ रहेको बेला काँग्रेसले सर्वसम्मत रुपमा मानन्धरलाई मेयरको उम्मेद्वार घोषणा गरेको हो । उप मेयरको भने केही दिनमा टुङ्गो लगाउने काँग्रेस सभापति रुद्रबहादुर खड्काले बताए ।
एमाले भित्र नगरपालिकामा १२ जना आकांक्षी भएपछि उम्मेद्वार छान्नै महाभारतको लडाइँ जस्तै भएको छ । नेकपा माओवादी केन्द्रले भने यस बारे निर्णय गरेको छैन । राप्रपाले क्षमावतीका राजनबहादुर शिवाकोटीलाई मेयरको रुपमा अघि सारेको छ ।
काँग्रेसले भीमेश्वरमा यस अघि नै वडा नं. १ मा भक्तसिं थामी, ३ मा हरिशरण शिवाकोटी र वडा नं. ८ बोचमा काजी बुढाथोकीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF