माथिल्लो तामाकोशी छिटो सम्पन्न गर्न साइटमै बैठक, कुलमानदेखि कामिनीसम्मको उपस्थिती

 आवाज संवाददाता     १० बैशाख २०७४, आईतवार

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण २०७५ असारभित्र पूरा गर्न ऋण लगानीकर्ता निकायले जोड दिएका छन ।

आयोजनाको स्थलगत अवलोकमा पुगेका कर्मचारी संचय कोष, नेपाल टेलिकम, बीमा संस्थानलगायत निकायका प्रतिनिधीले तोकिएको समयमा आयोजना सक्न जोड दिएका हुन ।

२०७५ असारभित्र सबै युनिट संचालन गर्नुपर्ने तथा सम्भव नभए ६ मध्ये पहिलो युनिट मात्रै भएपनि संचालनमा ल्याउने गरी काम सम्पन्न गर्न भनिएको छ ।

‘आयोजना निर्धारित समय तालिका अनुसार सम्पन्न हुनुपर्छ,’ ऋण लगानीकर्ता निकायका प्रतिनिधीले भने, ‘आयोजनाका समस्या के के छन ? अबरोध के मा छ ? आयोजना समयमा ल्याउन समस्या समाधान गरेर जान हामी सहयोगी भूमिका खेल्छौं,’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी संचालक समितिका अध्यक्ष कुलमान घिसिङसहितको टोलीले आयोजनाका प्रबद्र्धक, ठेकेदार र परामर्शदातासँग यस सम्बन्धमा छलफल गरेको छ ।

घिसिङले ८.६ किलोमिटर मुख्य सुरुङमध्ये बाँकी ९ सय ९० मिटरको निर्माण कार्य ३ सिफ्टमा संचालन गर्न ठेकेदार सिनो हाइड्रोलाई निर्देशनसमेत दिएका छन । अहिले २ सिफ्टमा भइरहेको कामलाई बढाएर ३ सिफ्टमा संचालन गर्न उनले निर्देशन दिएका हुन ।

घिसिङसहित संचालक समिति सदस्य हरराज न्यौपाने, मोहनरत्न शाक्य, लेखनाथ कोइराला, नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारी, वीमा संस्थानका प्रशासक आश्विनी कुमार ठाकुर, कर्मचारी संचय कोषका राजेन्द्र काफ्ले सम्मेलित टोली आयोजना स्थल पुगेको छ ।

२०६८ साल असारबाट निर्माण सुरु भएको आयोजनाको ८८ प्रतिशत काम पूरा भएको छ ।  १३ प्रतिशत काम पूरा गरेर २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य छ । २०७५ असारदेखि पुषसम्ममा अायाेजनाबाट व्यवसायिक उत्पादन सुरू हुने अपेक्षाा छ । २ वर्षअघिको भूकम्प र भारतीय नाकाबन्दीको असरका कारण आयोजनाकाे काम डेढ वर्ष ठप्प भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF