एमालेको साँझसम्म उम्मेद्वारी टुङ्गो लाग्ने, काँग्रेस माओवादी निष्कर्ष विहीन

 आवाज संवाददाता     १० बैशाख २०७४, आईतवार

दोलखा, १० बैशाख

नेकपा एमालेले साँझसम्म गाउँपालिका र नगरपालिकाको टुङ्गो लगाउँने भएको छ । ६ दिनदेखि लगातार बैठक बस्दा पनि उम्मेद्वारीको नामावली टुङ्गो लगाउँन नसकेको एमालेले बैशाख १० गते साँझसम्ममा एउटा सन्देश सहित मिलाउने संकेत गरेको छ ।
एमाले भित्र स्थानीय तहको निर्वाचनको आकांक्षी धेरै हुँदा मिलाउन हम्मे हम्मे परेको छ । उम्मेद्वारी मिलाउँन बैशाख ५ गतेको जिल्ला कमिटी बैठकले एमाले दोलखाका पूर्व पार्टी प्रमुखहरु सम्मिलित हाई कमाण्ड बनाएर जिम्मा लगाए पनि असफल भएको थियो ।
शनिबार दिनभर जिल्ला कमिटीका पदाधिकारीहरु बीचमा छलफल गरेर पुनः हाइकमाण्डलाई जिम्मा लगाएको छ । आइतबार विहानै देखि हाइकमाण्डमा नामावलीको विषयमा छलफल जारी छ । दोलखाको हाइकमाण्डमा पोलिट्व्यूरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, लालकुमार केसी, शिव भण्डारी, आनन्द पोखरेल र अध्यक्ष इश्वरचन्द्र पोखरेल छन् । गुटका हिसावले ३ जना नेपाल पक्ष र ३ जना ओली पक्षका छन् ।
एमाले भित्र नेताका आफ्नो नजिकका र आफ्नो गुटका मान्छेलाई टिकट दिन खोज्दा चरम विवाद भएको छ । ६ जनाको हाइकमाण्डमा कुरा मिल्न नसक्दा शुक्रबार पुनः स्थानीय तहमा नै निर्णयका पठाएका थिए ।
तल्लो निकायमा गुट्बन्दीले पार्टी नै झन् विग्रने भएकाले त्यो अधिकार केही समयमै जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेलले जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि अरु सदस्यहरुको सुझावको आधारमा अध्यक्ष , उपाध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव भरत दुलाल र उप सचिव डबल पाण्डे बीच बसेर शनिबार दिनभर छलफल भयो । तर अध्यक्ष बाहेकका पदाधिकारीहरु आफैं गाउँपालिका प्रमुखको दाबेदार हुन् ।
एमाले उपाध्यक्ष नरबहादुर श्रेष्ठले अब पार्टीको तल्लो कार्यकर्ताहरुसम्मलाई उत्साह बढ्ने गरी साँझसम्म निर्णय आउँने दाबी गरे । बाहिर जस्तो हल्ला भए तापनि वडा तहसम्मको निर्णय भएर बाहिर आउने बताए ।
काँग्रेस र नेकपा माओवादी केन्द्र बीच पनि चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्षविहीन भएको छ । दुवै पार्टीका नेताहरु बीच शुक्रबार र शनिबार छलफलबाट माओवादीलाई गौरीशंकर, कालिञ्चोक, शैलुङ र विगू गाउँपालिका छाड्न काँग्रेस तयार भए तापनि वडा तहको विभाजनमा कुरा नमिल्दा वार्ता निष्कर्ष विहीन भएको छ । माओवादी नेता विशाल खड्काले अब निर्वाचन आ आफ्नै ढंगले उम्मेद्वारी दिने बताए । तर काँग्रेस नेताहरुले भने छलफल जारी रहेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।