दोलखाबाट काँकडभित्ता बस सेवा सुरु

 आवाज संवाददाता     १० बैशाख २०७४, आईतवार

दोलखा, १० साउन
दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको छ । काँकडभित्ताका लागि आइतबार विहान ५ बजे चरिकोटबाट रोल्वालिङ यातायात सहकारी संस्थाले बस छुटाएको हो ।
चरिकोटबाट विहान छुटेको रोल्वालिङ यातायातको बस रामेछाप, सिन्धुली बर्दिबास हुँदै आइतबार साँझसम्म काँकडभित्ता पुग्ने छ । भोलीपल्ट सोही बस काँकडभित्ताबाट चरिकोटसम्म चल्ने छ । बस दैनिक जसो दिवा सेवामा चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
रोल्वालिङ यातायातले एक वर्ष अघि नै झापाको मेची यातायातसँगको सहकार्यमा बस सञ्चालन तयारी गरेको थियो । पछि ढोली खोलाको पुल बगाएको र वीपी राजमार्गमा बसलाई परमिट विवाद लगायतका कारणले राकिएको थियो । आइतबारबाट सुरु भएको बस सेवा अब नियमित हुने अध्यक्ष आचार्यले बताए ।
सिधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यसैगरी पूर्वी नेपालबाट दोलखाको भ्रमणमा आउनेहरुलाई पनि सहज हुने छ । यात्रुहरुको माग र आवश्यकताका आधारमा सिधा बस सेवा सञ्चालन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
आइतबार विहानै काँकडभित्ताबाट पनि एउटा बस चरिकोटका लागि छुटेको छ । त्यो बसलाई रोल्वालिङ यातायातले टिकट काटेर फिर्ता गर्ने छ । चरिकोटदेखि काँकडभित्तासम्मको दूरी ४ सय ६० किलोमिटर छ ।
रामेछाप र सिन्धुलीमा अवरोध
चरिकोटबाट काँकडभित्ता छुटेको बसलाई रामेछापको मन्थली र सिन्धुलीमा अवरोध भएको छ । मन्थलीमा अरनिको यातायात सेवा समिति र सिन्धुलीमा स्थानीय वीपी यातायात र प्रहरीले नै अवरोध गरेका थिए ।
सिन्धुलीमा काकडभित्ताबाट आएको बस समेत एक घण्टा बढी रोकिएको थियो । रोकिएको बस वार्ता र छलफलपछि चलेको रोल्वालिङ यातायातका उपाध्यक्ष मिङ्गुर शेर्पाले बताए । सिण्डिकेट चाहनेहरुले प्रशासन समेतलाई प्रयोग गरेर रोक्न खोजेको उनको आरोप छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।