उम्मेद्वारी टुङ्गिएसँगै एमालेमा अध्यक्षलाई राजिनामाको लर्को

 आवाज संवाददाता     ११ बैशाख २०७४, सोमबार

दोलखा, ११ बैशाख
नेकपा एमाले दोलखाले झण्डै एक साताको लामो निरन्तर छलफलपछि गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाएको छ । आइतबार साँझ उम्मेद्वारी टुङ्गो लगाएको छ ।
एमालेले उम्मेद्वारी टुङ्गो लगाउन मुख्य पदाधिकारीहरु नै निर्वाचनमा भाग लिएर बाँकी पदहरुमा मिलाएका छन् । पदाधिकारीहरुमा अध्यक्ष इश्वरचन्द्र पोखरेल आफैं तामाकोसी गाउँपालिका प्रमुख उठ्ने भएका छन् । त्यस्तै उपाध्यक्ष नरबहादुर श्रेष्ठ मेलुङ गाउँपाकिा प्रमुख, सचिव भतर दुलाल शैलुङ गाउँपालिका प्रमुख उठ्ने भएका छन् । उप सचिव डबल पाण्डेले भने विनकुमार थामीलाई कालिञ्चोक गाउँपालिका प्रमुखको रुपमा स्वीकार गरेका छन् ।
सोमबार विहान एमालेले पत्रकार सम्मेलन गरी उम्मेद्वारहरुको जानकारी दिन आयोजित कार्यक्रममा राजिनामा ओइरो नै लागेको छ । विशेष गरी शैलुङ गाउँपालिकाका लोकप्रिय नेताहरु धनबहादुर तमाङ, थिरबहादुर तमाङ, सेवा वाङ्देन लामा (प्रेम) छन् । त्यस्तै पूर्व उपाध्यक्ष भुवनसिं थापा, गणेश श्रेष्ठ, भरत ढुङ्गेल, भैरव श्रेष्ठ लगायत छन् ।
मेलुङ गाउँपालिकाबाट लोकप्रिय नेता हिरा थोकर लगायतको नेताहरु पनि असन्तुष्टि व्यक्त गरेका छन् । वैत्यश्वर गाउँपालिकामा पनि पुराना नेता भीम दाहाल, माधव घिमिरे, रोचकुमारी चौलगाई जस्ता मान्छेलाई पञ्छाएकोमा सामाजिक सञ्जालमा असन्तुष्टि छ ।
तामाकोसी गाउँपालिकामा अन्य नेताहरुलाई पञ्छाएर अध्यक्ष आफैंले टिकट लिनुमा पनि विरोध छ । तामाकोसीमा पुराना नेता बसन्त कार्की, प्रोणप्रताप केसी, बाबुकाजी कार्की, सिर्जना कार्की जिवसराज खड्का लगायतका नेताहरु पाखा लागेका छन् ।
भीमेश्वर नगरपालिका, विगू गाउँपालिकामा पनि असन्तुष्टिको व्यक्त भएका छन् । एमाले भित्रको असन्तुष्टिलाई प्रेस चौतारीका केन्द्रीय सदस्य सरद सापकोटाले लेखेका छन् “पाएसम्म म आफैँ, नत्र मेरी श्रीमती, नभए मेरा भाइबन्धु नातेदार, हैनभने मेरै अनुहार र थर मिल्ने, अन्यथा मेरो वरिपरि घुम्ने वा मलाई मन पराउने, त्यो पनि भएन भने तलाई पख सिद्याइदिन्छु ।”
कालिचोक गाउँपालिका प्रमुखको दाबी गरेकी कालिका पाठकले उपप्रमुख पद अस्वीकार गरेकी छिन् । प्रमुख बन्ने क्षमता हुँदा हुँदै महिलालाई उपप्रमुख मात्र दिने प्रणाली विरुद्ध आफूले पद अस्वीकार गरेको बताइन् ।

जिरीमा दुवै बाहिरबाट
जिरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै अन्य पार्टीबाट आएकाले अवसर पाएका छन् । प्रमुखमा नेपाली काँग्रेसबाट एक महिना अघि प्रवेश गरेका टंक जिरेलले अवसर पाएका छन् भने उप प्रमुखमा माओवादी केन्द्रकी कृष्णकुमारी बुढाथोकीले अवसर पाएका छन् । दुवै जिरीका एउटै वडाका रहेका छन् ।
नवप्रवेशीहरुले मात्र अवसर पाएकोभन्दै पुराना एमाले नेता कार्यकर्ताहरु असन्तुष्टि रहेका छन् । एमालेका एक युवा नेताले ३५ वर्ष अन्यत्र घुमेर आउने नेतालाई अवसर दिइरहँदा ३५ वर्ष थप सक्रिय राजनीति गर्नेहरुलाई गुमाउनु पर्ने चेतावनी समेत दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF