साविक बिजेता स्पेन र इंग्ल्याण्ड युरोकपबाट बाहिरिए, आइसल्याण्ड र इटाली क्वाटरफाइनलमा

 आवाज संवाददाता     १४ असार २०७३, मंगलवार

पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ ।
अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २-१ ले हराउन सफल भयो । पछाडि परेको स्थितिलाई उल्टाउँदै आइसल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए ।
तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।
दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।
पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । विश्व फुटबलको महारथी टोलीमध्येको एक मानिने इंग्ल्याण्डमा त्यति मानिसले त व्यवसायिक फुटबल खेल्छन् भनिन्छ । तर पनि विश्व वरियातामा ११औं स्थानमा रहेको इंग्ल्याण्डले आइसल्याण्डलाई हराउन सकेन ।
यो खेलसँगै युरोकको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

553511415

त्यसैगरी चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलको प्रि(क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।
फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २-० गोलले हराउँदै गत संस्करणको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ । सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४-० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।
स्पेनविरुद्ध इटालीका डिफेण्डर जरेजियो चेलिनीले गोलको खाता खोलेका हुन् । ३३औं मिनेटमा एडर मार्टिनको फ्रि किक प्रहार रोकेपनि स्पेनिस किपर डेभिड डि गायले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियामा रहेका चेलिनीले सहजै बललाई जालीचुमाएका थिए ।
खेलमा नियमितपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २-० को जित सुनिश्चित गराए । डिफेन्सिभ कमजोरीले स्पेनले दोस्रो गोल खान पुगेको थियो ।
इटलीले क्वाटरफाइनलमा विश्वबिजेता जर्मनीको सामना गर्नेछ । जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।
यता खेलअवधिभर स्पेनले कुनैपनि खतरनाक आक्रमण बुन्न सकेन । दोस्रो हाफको मध्यतिर आन्द्रेस इनिएष्टा र जेरार्ड पिक्युको शशक्त प्रहार इटलीयन भेट्रान गोलकिपर बुफोनले बिफल पारेका थिए ।
पछिल्लो १० बर्षमा दुई युरोकप र एक विश्वकप गरी ३ ठूला उपाधि जितेको स्पेन गत संस्करणको विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो । धेरैले स्पेनको मौलिक खेलशैली ‘टिकीटाका’ को समय सकिएको टिप्पणी गरेका छन् । इटलीबिरुद्धको खेलमा स्पेनको रक्षापंक्ति कमजोर देखिएको थियो भने स्ट्राइकरहरुको प्रदर्शनपनि सन्तोषजनक थिएन ।
अनलाइनखबरबाट साभार

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।