हिम आरोहीहरुको गाउँ वेदिङका ज्येष्ठ नागरिक सम्मानित

 आवाज संवाददाता     १४ बैशाख २०७४, बिहीबार

दोलखा, बैशाख १५/हिम आरोहीहरुको गाउँ भनेर चिनिने गौरीशंकर गाउँपालिकाको वेदिङका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वर्षभरि जाडो भैरहने वेदिङका ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरी सम्मान गरिएको हो ।
साविक गौरीशंकर गाविस १ की सबैभन्दा ज्येष्ठ ८२ वर्षीया छोकीबुटी शेर्पालाई स्थानीय विकास अधिकारी शंकर नेपालले न्यानो ज्याकेट प्रदान गरी सम्मान गरे भने प्रमुख जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्यले दोसल्ला ओढाएर सम्मान गरे । छोकीबुटीसमेत तीन जना ज्येष्ठ नागरिक र वेदिङका १३ जना एकल महिलाहरुलाई न्यानो ज्याकेट प्रदान गरी सम्मान गरिएको गौरीशंकर गाउँपालिका वडा नं ९ का वडा सचिव खड्ग आलेले जानकारी दिए ।
त्यसैगरी साङछोलिङ गुम्बा वेदिङका प्रमुख लामा ङावाङ तेन्जिङ लामालाई वेदिङमा सामाजिक सेवा गरे वापत दश हजार रुपैयाँ र दोसल्लाले सम्मान गरिएको थियो ।
सो सम्मान कार्यक्रमको अवसरमा साङछोलिङ गुम्बाका प्रमुख लामाले वेदिङमा बाटो, बिजलीको समस्या रहेको, स्वास्थ्य उपचारको समस्या रहेको गुनासो गरे । उनले भने, ‘टाउको दुखेमा खाने ठाउँ, औषधी दिने मान्छे छैन । धनी मान्छे त हेलिकप्टरबाट काठमाडौँ जान्छ तर गरिव उपचार नपाई मर्छ ।’ उनले वेदिङको माथिल्लो गुम्बाको मर्मत गरिदिन माग समेत गरे ।
रोल्वालिङ क्षेत्रको भ्रमणपछि आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी शंकर नेपालले रोल्वालिङवासीहरुलाई देख्दा आफूसँग जे छ त्यसमा रमाउनुपर्छ भन्ने सन्देश पाएको बताए । उनले स्विस सरकार र नेपाल सरकारको साझेदारीमा सिमीगाउँदेखि च्छोरोल्पासम्म पैदलमार्ग बन्न लागेको बताए । उनले वेदिङको माथिल्लो गुम्बा मर्मत गरिने, वेदिङस्थित जीर्ण पेल्ट्रिक सेट मर्मत गरिने आश्वासन दिए ।
वेदिङमा हाल ८२ घरधुरी रहेका छन् भने उनीहरुको ना र निवारेमा पनि वासस्थान रहेको छ । करिब ४ हजार १ सय ८३ मिटरको उचाइमा रहेको ना उनीहरुको सबैभन्दा माथिल्लो वस्ती हो । उनीहरुको मुख्य बस्ती ३ हजार ७ सय ४५ मिटरमा रहेको वेदिङ हो । आधाजसो समय उनीहरु व्ेदिङमा बिताउँछन् भने करिब ३ महिना ना र ३ महिना सबैभन्दा तल्लो बस्ती निवारेमा बस्ने गर्दछन् ।
वेदिङका ६० भन्दा बढी युवाहरुले विभिन्न कीर्तिमानसहित २ सय २२ पटक सर्वोच्च शिखर सगरमाथा चुमिसकेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।