दोलखामा काँग्रेस माओवादी चुवावी तालमेल

 आवाज संवाददाता     १६ बैशाख २०७४, शनिबार

दोलखा, १६ बैशाख

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल हुने भएको छ । आ–आफ्नो पार्टीमा आन्तरिक छलफलपछि दिउँसो ३ बजे बसेको संयुक्त बैठकले दुवै दल चुनावमा मिलेर जाने सहमति पत्रमा सम्झौता भएको हो ।
दुवै पार्टीले शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा दवै पार्टीका तर्फबाट विगू गाउँपालिकामा युधिष्टिर खड्काको नेतृत्वमा निर्वाचन हुने भएको छ । खड्का नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष हुने छन् । त्यहाँ माओवादी केन्द्रले उपाध्यक्ष पद पाउने छ । खड्का एमाले परित्याग गरी शनिबार मात्र संयुक्त प्यानल प्रवेश गरेका हुन् ।
दोलखाको २ नगरपालिका र ७ गाउँपालिका मध्ये ४ नेकपा माओवादी केन्द्र र ५ नेपाली काँग्रेसले प्रमुख पाउने यस अघि नै सहमति भइ सकेको छ । अरु नगरपालिका गाउँपालिका र वडा अध्यक्षहरुको नाम सार्वजनिक नगरे तापनि स्थानीयस्तरमा नै छलफल गरेर भोलीसम्म सबै टुङ्गो लगाउँने नेकपा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवी खड्काले जानकारी दिइन् ।
स्थानीय आवश्यकता अनुसार काँग्रेस र माओवादीको संयुक्त प्यानल बनाएको संयुक्त विज्ञप्तीमा जानकारी दिइएको छ । अहिले दुई दलको प्यानल बने तापनि यस प्यानलमा अन्य दल र स्वतन्त्र नागरिकहरु पनि सहभागी हुन सक्ने उल्लेख छ ।
दुवै दलको सहमति सार्वजनिक नभए तापनि भीमेश्वर नगरपालिकामा नेपाली काँग्रेसका इश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिकामा बर्मा लामा, तामाकोसी गाउँपालिकामा भवेन्द्र कार्की संयुक्त प्यानलको अध्यक्ष हुने करिब पक्का भएको छ । नेकपा माओवादी केन्द्रबाट गौरीशंकर गाउँपालिकामा निमा लामा, कालिञ्चोक गाउँपालिकामा कुलबहादुर बुढाथोकी प्रमुख हुने पक्का छ । जिरी नगरपालिका, वैत्यश्वर गाउँपालिका र शैलुङ गाउँपालिकामा स्थानीयस्तरमा छलफल गरेर टुङ्गो लगाउँनु पर्ने बाध्यता छ । ति गाउँपालिकामा दुवै दलका आफ्ना तर्फबाट उम्मेद्वार घोषणा गरेर प्रचारप्रसारमा लागेका छन् ।


नेपाली काँग्रेसका सभापति रुद्रबहादुर खड्काले आजैबाट अब दुवै पार्टीका निर्वाचन परिचालन आयोजक समिति भंग गरी संयुक्त निर्वाचन परिचालन समिति बन्ने जानकारी दिए । उनले अब जिल्ला तह र स्थानीय स्तरमा समेत संयुक्त सम्पर्क कार्यालय बनाएर काम गर्ने बताए ।
प्यानल घोषणा सभामा नेपाली काँग्रेसका तर्फबाट सभापति खड्का, पूर्व सभापति देवी न्यौपाने ताराबहादुर कोइराला लगायतका नेताहरु र माओवादी केन्द्रका तर्फबाट जिल्ला इन्चार्ज खड्का, पोलिट्व्यूरो सदस्य गंगा कार्की, हेम श्रेष्ठ, विशाल खड्का, नरबहादुर पाख्रिन लगाएतका नेताहरु थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।