काँग्रेस–माओवादी तालमेल जिल्ला मिल्यो तर गाउँ मिलेन

 आवाज संवाददाता     २० बैशाख २०७४, बुधबार

दोलखा, २० बैशाख

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच स्थानीय तह निर्वाचनका लागि तालमेल गर्न जिल्लास्तरमा सहमति भए तापनि गाउँमा त्यसको प्रभाव धेरै ठाउँमा देखिएन । दुई पार्टी बीच तल्लो तहसम्म तालमेल गरेर जाने सहमति भए तापनि धेरै वडाहरुमा आफूखुशी उम्मेद्वारी दर्ता भएका छन् ।
भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, शैलुङ गाउँपालिकामा प्रमुख उप प्रमुखमा नै कुरा नमिल्दा आ–आफ्नै ढंगले उम्मेद्वारी दिएका छन् । ति गाउँपालिका र नगरपालिकामा प्रमुख, उपप्रमुख र वडा तहमा आफ्नो सबै सदस्यहरु सेटमै उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी कालिञ्चोक गाउँपालिका, विगू गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जिल्लास्तरको सम्झौता अनुसारै मिलेर उम्मेद्वारी दिए तापनि वडातहमा सहमति हुन सकेन । गौरीशंकर गाउँपालिकाको मार्बू, झ्याँकुका दुवै वडा र जुँगूको एउटा वडामा दुवै पक्षको उम्मेद्वारी दर्ता गरेका छन् । गौरीशंकरमा अन्यत्र कुरा मिले तापनि जुँगूको एउटा वडामा कुरा नमिल्दा झ्याँकुमा समेत असर गरेको काँग्रेस पक्षको आरोप छ ।
वैत्यश्वर गाउँपालिकामा माओवादी पक्षका अध्यक्षका प्रत्यासी रविचन्द्र आचार्य उपाध्यक्षमा बस्न राजी भए पनि उम्मेद्वारी दर्ता समेत सामुहिक भयो । त्यहाँ मिर्गे बाहेकमा सहमति भएको छ । मिर्गेमा काँग्रेसका कृष्णबहादुर दाहाल र माओवादी केन्द्रका तर्फबाट अम्बरबहादुर तमाङले आ आफ्नो प्यानलबाट उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रसका सभापति रुद्रबहादुर खड्काले उम्मेद्वारी दर्तामा कतिपय ठाउँमा समस्या भए तापनि मिलाउँन स्थानीयस्तरमा नै वार्ता छलफल भइरहेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।