स्थानीय चुनावमा भाग्यमानी नातेदार

 आवाज संवाददाता     २० बैशाख २०७४, बुधबार

दोलखा, २० बैशाख
स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट पाउँनका लागि तँछाड मछाड भए तापनि केही व्यक्तिहरु अरुलाई पन्छाउँदै टिकट पाउँने भाग्यमानी भएका छन् । पार्टीले टिकट नदिंदा केही नेताहरु पार्टी छाड्नेसम्मको धम्की दिने र पार्टीको निर्देशन समेत नमान्दै विद्रोहसम् मगर्नेहरु पार्टीहरु भित्र धेरै देखिए ।
टिकट पाउँन ठूलो प्रतिस्पर्धा भए तापनि दोलखाको एक जोडीले श्रीमान् श्रीमति नै टिकट पाउने भाग्यमानी जोडी भएका छन् । एमालेबाट भीमेश्वर नगरपालिकामा उपमेयरमा टिकट पाउने कमला बस्नेत र मेलुङ गाउँपालिका वडा नं. ७ को अध्यक्षका उम्मेद्वार नवराज खड्का भाग्यमानी जोडी हुन् । बस्नेत भीमेश्वर नगरपालिकाको उपमेयरमा अन्य आधा दर्जन प्रतिस्पर्धीहरुलाई पछिपार्दै उनले टिकट पाएर उम्मेद्वारी दर्ता गराएकी हुन् । त्यसैगरी उनका श्रीमान् खड्का पनि अन्य प्रतिस्पर्धीलाई उछिन्दै पार्टीबाट टिकट पाएका हुन् ।
त्यस्तै गौरीशंकर गाउँपालिकामा पनि ३ जना आफन्तहरु वडा अध्यक्षमा टिकट पाउँने भाग्यमानीहरु हुन् । एमालेबाट गौरीशंकर गाउँपालिका वडा नं. ३, ४ र ५ बाट टिकट पाउँने वडा अध्यक्षहरु भाग्यमानी हुन् । वडा नं. ५ सुरीबाट डिल्लीध्वज बस्नेतले टिकट पाए । त्यस्तै उनका सम्धी अनिल खड्काले गौरीशंकर ३ झ्याँकूबाट टिकट पाए भने वडा नं. ४ झ्याँकुबाटै बस्नेतका साला माधव खत्रीले वडा अध्यक्षको टिकट पाए । तिनै जना शिक्षकबाट राजिनामा गरी वडा अध्यक्षको टिकट पाएका हुन् । डिल्लीध्वज बस्नेत भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङका मित हुन् ।
एमाले भित्र सुरी र झ्याँकूमा पार्टीकै लागि भने अप्ठ्यारो परिस्थितिमा समेत संगठनकै लागि काम गर्नेहरु पाखा लगाएर शिक्षकहरुलाई पार्टीले टिकट दिएको हो । गौरीशंकर ३ र ४ मा टिकटका लागि विवाद भएपछि सार्वजनिक गरेको थिएन । पार्टीमा छिरीनाम्गेल शेर्पा, एकमबहादुर खड्का, जिस्णु खड्का लगायतका नेताहरुलाई पार्टीले किनारा लगाएको छ ।
मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस तर्फबाट अध्यक्ष वर्मा लामा र वडा अध्यक्षमा उनका भाई राजु लामाले टिकट पाएका छन् । बर्माले गाउँपालिका अध्यक्षमा यस अघि नै टिकट पाउँने पक्का भए तापनि उनका भाई राजुले अन्तिम समयमा आएर मेलुङ गाउँपालिका वडा नं. ६ को वडा अध्यक्षको टिकट पाएर उम्मेद्वारी दर्ता गराए । मेलुङ गाउँपालिकामै एमालेबाट अध्यक्षको टिकट पाएका नरबहादुर श्रेष्ठका जेठान अम्बिका गोलेले मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पूबाट वडा अध्यक्षको टिकट पाउँन सफल भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF