कांग्रेस–माओवादी तालमेल अब भीमेश्वर, तामाकोशी र मेलुङमा पनि

 आवाज संवाददाता     २१ बैशाख २०७४, बिहीबार

दोलखा, बैशाख २१

आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच दोलखाका थप १ नगर र दुई गाउँपालिकामा चुनावी तालमेल हुने भएको छ ।
बैशाख १९ गते आआफ्नै ढंगले उम्मेदवारी दिए पनि आज उम्मेदवारी फिर्ता लिएर दोलखाका भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकामा चुनावी तालमेल गरिएको हो । उम्मेद्वारी दिने क्रममै जिल्लाका कालिन्चोक, विगु, गौरीशंकर र वैतेश्वर गाउँपालिकामा कांग्रेस– माओवादी उम्मेदवारहरुले मिलेर उम्मेद्वारी दिएका थिए ।
चुनावी तालमेलका लागि भीमेश्वर नगरका एमाओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेद्वार मोहन थापाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् भने नेपाली कांग्रेसका उपमेयरका उम्मेद्वार शारदा थापाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । त्यसैगरी भीमेश्वर ५ का वडा अध्यक्षका प्रत्याशी एमाओवादी केन्द्रका राजकुमार कार्की र एमाओवादीकै वडा नं ६ का प्रत्याशी सुरज तामाङले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । माओवादी केन्द्रका वडा नं ५ का वडा सदस्यद्वय मानबहादुर बस्नेत र गणेशबहादुर थापाले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वडा नं ५ कै दलित महिला सदस्य गोपिनी विश्वकर्मा र महिला सदस्य विन्दु खत्री बस्नेतले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।
तामाकोशी गाउँपालिकामा पनि कांग्रेस–माओवादी तालमेल हुने देखिएको छ । एमाओवादी केन्द्रका प्रमुखका प्रत्याशी र नेपाली कांग्रेसका उपप्रमुखले उम्मेद्वारी फिर्ता लिएपछि चुनावी तालमेल बनेको हो । सो गाउँपालिकामा अध्यक्षका केन्द्रका प्रत्याशी सविता घिमिरे र नेपाली कांग्रेसतर्फका उपप्रमुखका प्रत्याशी सिर्जना सुवेदी खड्काले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत विश्वराज न्यौपालेले जानकारी दिए । त्यसैगरी एमाओवादी केन्द्रतर्फको वडा नं ६ का अध्यक्ष र वडा नै ४ का वडा अध्यक्ष ठाकुर बहादुर खड्काले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । वडा नं ६ कै केन्द्रतर्फका वडा सदस्य कुलप्रसाद आपागाईँले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसकी वडा नं ५ की महिला वडा सदस्य चमेली श्रेष्ठले पनि उम्मेद्वारी फिर्ता लिएकी छन् ।
मेलुङ गाउँपालिकामा प्रमुखका प्रत्याशी माओवादी केन्द्रका सीता तामाङले आफ्नो उम्मेद्वारी फिर्ता लिएर तालमेलको वाताबरण बनाएकी छन् भने उपप्रमुखको प्रत्याशी नेपाली कांग्रेसकी कल्पना केसी आफ्नो उम्मेद्वारी फिर्ता लिएर तालमेललाई सघाएकी छन् । वडा नं ७ बाट माओवादी केन्द्रका वडा अध्यक्षका प्रत्याशी यज्ञबहादुर श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यसैगरी अन्य ६ जना वडा सदस्यहरुले पनि उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए । यसक्रममा वडा नं ४ का वडाअध्यक्षका प्रत्याशी राप्रपाका रामजी अधिकारीले समेत उम्मेद्वारी फिर्ता लिएका छन् ।
यसैगरी वैतेश्वर गाउँपालिका वडा नं ७ का वडा अध्यक्षका प्रत्याशी नेपाली कांग्रेसका हरिचन्द्र रिमाल, वडा सदस्य टीकामाया ढुंगेलले उम्मेद्वारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो पालिकामा वडा नं ७ का दलित महिला सदस्य सीता सार्की र वडा नं ४ का वडा सदस्य नेकपा मालेका जगत विकले समेत उम्मेद्वारी फिर्ताका लागि निवेदन दिएका छन् ।
त्यसैगरी गौरीशंकर गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका प्रत्याशी माओवादी केन्द्रका अशोक तामाङले पनि उम्मेद्वारी फिर्ता लिएको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF