उम्मेद्वारलाई धम्की दिने विप्लव माओवादीका ३ नेता पक्राऊ

 आवाज संवाददाता     २२ बैशाख २०७४, शुक्रबार

बैशाख २२, दोलखा । दोलखाको विभिन्न नगरपालिका र गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिष्ट पार्टी विप्लवका ३ कार्यकर्ता शुक्रबार विहान प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान सदरमुकाम चरिकोटको एक चिया पसलबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी विप्लव दोलखाको इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके, र सचिववालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रविन कार्कीले निर्वाचन विथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राऊ गरिएको बताए । निर्वाचन विथोल्नका लागि उम्मेद्वारहरुलाई धम्की दिने, पोष्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको बताए । पक्रऊ परेकाहरुलाई निर्वाचन नसकिउन्जेलसम्म नछाड्न माथिबाटै आदेश आएको उनले बताए ।
करिब २० वर्षपछि स्थानीय तहको निर्वाचनमा होमिएको उम्मेदवारहरुलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताले विहिबार उम्मेदवारी फिर्ता लिन पत्रमार्फत धम्की दिए पछि पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ । आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताको लागि मान्य नभएको भन्दै उम्मेदवारी दिएकाहरुले फिर्ता लिन पत्रचारमार्फत विप्लबले धम्की दिएको हो । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिने समेत पत्रमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF