जुँगू घटनामा संलग्नको आशंकामा ८ जना पक्राऊ

 आवाज संवाददाता     २७ बैशाख २०७४, बुधबार

दोलखा, २७ बैशाख
गौरीशंकर गाउँपालिका २ जुँगूमा मंगलबार राती एकको ज्याने गरी भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई पक्राऊ गरेको छ । पक्राऊ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पक्राऊ परेकाहरुको नाम भने प्रहरीले बताएको छैन ।
गौरीशंकर गाउँपालिका २ रेशमडाँडामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र एमालेका स्थानीय कार्यकर्ताहरु बीच झडप हुँदा एमालेका एक युवाको ज्यान भएको छ । ज्यान जानेमा गौरीशंकर गाउँपालिका १ हुप्पाका ३३ वर्षिय कुलबहादुर तमाङ हुन् । तमाङ नेकपा एमाले गौरीशंकर १ का वडा सदस्यका उम्मेद्वार गोरे तमाङका छोरा हुन् ।
दोहोरो झडपका क्रममा तमाङलाई धारिलो हतियारको चोट रहेको प्रहरीले जानकारी दिएको छ । झडपमा स्थानीय शिक्षक तथा एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी समेत गम्भिर घाइते भएका छन् । तमाङ र बुढाथोकीलाई प्रहरीले राती नै उद्धार गरी उपचारका क्रममा चरिकोट ल्याउँदै गर्दा तमाङको बाटोमै ज्यान गएको थियो । गम्भिर घाइते बुढाथोकीको भने अहिले त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको उपचारमा संलग्न डिल्लीराज बराइलीले जानकारी दिए ।
झडपका क्रममा एमाले कार्यकर्ता चढ्दै आएको ३ वटा मोटर साइकल समेत जलाइएका छन् । झडपका क्रममा गोली पनि चलेको एमाले पक्षले दाबी गरेको छ । तर प्रहरीले गोली चले नचलेको बारे अनुसन्धान भइरहेको बताएको छ ।

यसरी भयो घटना ?
स्थानीय निकायको निर्वाचनको मिति नजिकीदै गर्दा उम्मेद्वारहरु सहित कार्यकर्ताहरु पनि आफ्नो पार्टी र उम्मेद्वारहरुलाई मत माग्न व्यस्त थिए । नेकपा एमालेले युवाहरु सहित बैशाखको १० गतेदेखि नै रेशमडाँडाको लक्षु जिरेलको घरमा शिविर नै राखेको थियो । राती ८ बजेतिर नेकपा माओवादी गौरीशंकर गाउँपालिका १ का वडा अध्यक्षका उम्मेद्वार भरत खड्का सहित दार्खा भन्ने ठाउँतिरबाट मत मागेर फर्कदै गर्दा एमाले शिविर बसेको ठाउँ नेर गाडी केही बेर अवरोध भएको थियो । अवरोध भएपछि एमाले पक्षका युवाहरुले वियरका बोतल र ढुङ्गा प्रहारको माओवादीबाट गौरीशंकर १ को वडा अध्यक्षमा उम्मेद्वार भएका भरत खड्काले बताए । एमाले पक्षको आक्रमणबाट उम्मेद्वार भरत खड्का, वडा सदस्य उम्मेद्वार कृष्णमाया कार्की र माओवादी नेता प्रकाश खड्का घाइते भए । आफूहरु माथि समेत आक्रमण गरेर ति युवाहरुले केही माथिसम्म लखेटेको उम्मेद्वार खड्काले जानकारी दिए ।
माओवादी उम्मेद्वारहरु सहितको टोली माओवादीले समेत केही माथि चुलीडाँडा भन्ने ठाउँमा राखेको शिविरमा पुगेपछि माओवादीका युवाहरु समेत एमाले शिविर बसेको ठाउँमा जाइलागेका हुन् । संभावित झडप हुने थापा पाएपछि एमाले पक्षीय कार्यकर्ताहरु बाहिर निस्केर स्कुलको चौरमा पुगिसकेका थिए भने केही भित्रै ढोका बन्द गरेर बसेका थिए । माओवादी पक्षका युवाहरुले एमालेले खाना खाने होटलको छानामा चढेर ढुङ्गामुढा गरेको होटल सञ्चालक लक्षु जिरेलले बताए । जस्ता समेत उधारेर भित्र पस्न खोजे तर आफूहरु बच्चा सहित खाटमुनी बसेर ज्यान बचाएको बताए ।
एमालेले शिविर राखेर युवाहरु भेला गरेपछि माओवादीले समेत ४ दिन अघिदेखि वाइसीएलको शिविर राखेको बताएको छ । माओवादी पोलिट्व्यूरो सदस्य तथा दोलखा इन्चार्ज देवी खड्का बुधबार झ्याँकुमा हुने चुनावी सभामा भाग लिन मंगलबार जुँगू पुगेकी थिइन् । खड्का गौरीशंकर वडा नं. २ का उम्मेद्वार बसन्त कार्कीको घरमा बास बसेकी थिइन् ।
एमाले पक्षका युवाहरुले माओवादी पक्षका नेताहरुलाई यस अघि पनि आक्रमण गर्न खोजेको माओवादी पक्षले बताएको छ । मत माग्दै जाने क्रममा ३ दिन अघि एमाले पक्ष युवाहरुले साविक जुँगू ९ हुप्पाबाट माओवादी पक्षको टोलीलाई लखेटेको थियो । त्यो टोली चेत्पू हुँदै फर्केको थियो ।
जुँगूको अवस्था कस्तो छ ?
घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइतेलाई प्रहरीले नै उद्धार गरी उचारका लागि लगेको हो । विहानै दोलखाका प्रहरी प्रमुख रविन कार्की आफैं घटनास्थल पुगेका छन् । बुधबारदेखि चुनावी सुरक्षाका लागि परिचालित हवाइ गस्ती पनि नेपाली सेनाले गरेको छ । स्थिति नभड्कियोस् भनेर प्रहरी र सेना ठूलो संख्यामा परिचालन गरेको छ ।
घटनापछि माओवादी टोली पछि हटेका छन् । मतक परिवार आफन्तहरु हुप्पाबाट रशमडाँडा पुगेका छन् । उनीहरु माओवादीप्रति आक्रोशित भएको स्थानीयहरुले बताएका छन् । तर स्थानीयहरु पुनः २ पक्ष बीच के हुने हो भन्ने बारे आतंकित छन् । मतदानमा खटिएका कर्मचारी सहितको टोली पनि जुँगूका दुवै मतदान केन्द्र पुगेका छन् ।
घटनाको विरोधमा नेकपा एमालेले भने चरिकोटमा बुधबार दिउँसो विरोध ¥याली निकालेको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।