भूकम्पपीडितलाई सम्बोधन गर्न मध्यमार्गी बाटो, आज पनि बैठक

 आवाज संवाददाता     १४ असार २०७३, मंगलवार

काठमाडौं, १५ असार । भूकम्प पीडितलाई दिने राहतका विषयमा मध्यमार्गी बाटोमा सहमति हुने भएको छ । आज बिहान बस्ने सत्तापक्ष र विपक्षी दलको बैठकले दुई लाख रुपियाँ दुई किस्तामा दिने विकल्पमा सहमति गर्ने तयारी गरेको छ ।

कांग्रेस नेता डा प्रकाशशरण महतले हिजोको वार्तामा सहमति नजिक पुगेको र आज भूकम्प प्रभावितहरुलाई सहयोग दिने विश्व बैंकसँग छलफल गरेर निस्कर्षमा पुगिने बताए । पटक–पटक संसद अवरुद्ध भएपछि वार्ताको टेबुलमा आएका सत्ता र प्रतिपक्षका नेताबीच हिजो तीन चरणका बैठकले सहमति नजिक पुर्‍याएको नेताहरुको भनाई छ ।

नेपाली कांग्रेस पहिलो किस्ता डेढ लाख दिनुपर्ने र त्यो सहमति प्रधानमन्त्रीले संसद बैठकमा सम्बोधनका क्रममा उल्लेख गर्नुपर्ने पक्षमा छ । कार्यदलका सदस्य तथा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आज थप छलफल गरेर निचोडमा पुगिने बताए ।

आज बिहान प्रधानमन्त्रीले राहत रकम एकमुष्ट दिन मिल्ने नमिल्ने विषयमा थप परामर्श गर्ने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । विधी र प्रक्रियाले अप्ठ्यारो नपारे प्रधानमन्त्री सकारात्मक रहेको सचिवालयको भनाइ छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।