निर्वाचन आयोगबाट जुँगू घटनाको छानविन सुरु

 आवाज संवाददाता     २८ बैशाख २०७४, बिहीबार

२८ बैशाख, दोलखा, निर्वाचन आयोगले दोलखा घटनाको छानबिन गर्न निर्वाचन आयुक्तको नेतृत्वमा छुट्टै अनुसन्धान टोली गठन गरेको छ । आयुक्त सुधीर शाहको नेतृत्वमा समिति गठन गरिएको हो ।

मंगलबार राती एमाले र माओवादी केन्द्रबीच झडप हुँदा दोलखाको गौरिशंकर गाउँपालिका २ जुँगू रेशमडाँडामा एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो । घटनामा एकजना घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

निर्वाचन आयोगले उक्त घटनालाई गम्भिर रुपमा लिएर आयुक्तको नेतृत्वमा छानवीन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । उनले दोलखा घटनापछि सुरक्षा सतकर्ता थप बढाइएको समेत बताएका छन् ।

स्थानीय तहको चुनावमा निर्वाचन आयुक्तकै नेतृत्वमा कुनै बिशेष घटनाको छानबिन गर्न टोली गठन गरेको यो पहिलो पटक हो । निर्वाचन आयुक्त शाह दोलखा पुगेर छानबिन गर्ने आयोगले जनाएको छ ।

घटनापछि एमालेले गम्भिर आपत्ति जनाउँदै आएको छ । त्यस्तै गरी नेकपा माओवादी केन्द्रले पनि विज्ञप्ती मार्फत आफ्ना नेता कार्यकर्ता माथि एमाले युवाहरुले आक्रमणपछि घटना भएकाले स्वतन्त्र छानविनका लागि सरकार समक्ष माग गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF