सुरक्षा माग्दै मार्बूका उम्मेद्वार सदरमुकाममा

 आवाज संवाददाता     २९ बैशाख २०७४, शुक्रबार

बैशाख २९, दोलखा
उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका वडा नं. ७, मार्बुबाट लखेटिएका माओवादी काँग्रेस उम्मेद्वारहरु सदरमुकाम चरिकोट आइपुगेका छन् । एमालेका कार्यकर्ताबाट वडा अध्यक्षका उम्मेदवार सहित २९ जना लखेटिएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नं ७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडा सदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुल्ला वडा सदस्यका उम्मेदवार आङदोर्जी शेर्पा, माओवादी नेता छिरिङ शेर्पा, नेपाली काँग्रेस मार्बुका सभापति टेण्डु शेर्पा सहित २९ जना नेकपा एमालेका कार्यकर्ताहरुबाट लखेटिएका हुन् । लखेटिएका मध्ये ७ जना सदरमुकाम चरिकोट आइपुगेका छन् भने २५ जना सिंगटीमा सुरक्षित रहेको वडाध्यक्षको उम्मेदवार सोनाम शेर्पाले जानकारी दिएका छन् ।
स्थानीय तहको चुनावमा शान्ति सुरक्षा पाउँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा शुक्रबार उजुरी दर्ता गरेका छन् । त्यस्तै सुरक्षित वातावरणमा मतदान गर्न पाउँ भन्दै निर्वाचन आयोगका आयुक्तहरु सुधिरकुमार शाह र इला शर्माको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतलाई उजुरी बुझाएका छन् । नेकपा एमालेले १०० भन्दा बढी भाडाका गुण्डा गाउँमा भित्र्याई आफूहरुलाई गाउँ छाड्न धम्की दिएकोले ज्यानको सुरक्षा र शान्तिपूर्ण निर्वाचनको माग गर्दै उजुरी दिएको उनीहरुको दाबी छ ।
मार्वुमा नेकपा एमालेका विभिन्न ब्यक्तिहरुले भाला, खुकुरी, तरवार, पेस्तोल बोकी घर घरमा गएर मतदातालाई धम्क्याउँदै मतदाता परिचय पत्र लिनबाट समेत वञ्चित गरेको उनीहरुको आरोप छ । आफूहरुलाई ज्यानको असुरक्षा रहेको भन्दै उनीहरुले युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङ, बागविर शेर्पा, सोमफुर्वा शेर्पा, कामदोर्जी शेर्पा, फुरलाक्पा शेर्पा, आङदोर्जी शेर्पा रिज्जी, नानी गुरुङ, मिङमा शेर्पा, रुपक गुरुङ, दोमसार्की शेर्पा, शिक्षक कुमार गुरुङ, मोहन विक्रम आचार्य सहित १२ जना विरुद्ध जिल्ला प्रशानमा किटानी साथ उजुरी दिएका छन् ।
एमालेका कार्यकर्ता र उनीहरुले ल्याएको भाडाका ब्यक्तिहरुले आतंक मच्चाएपछि मार्वुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी २९ जना विस्थापित भएका छन् । त्यस्तै मतदानका लागि आएका ५० बढी मतदाताहरु डर त्रासले काठमाडौं फर्किएको उनीहरुले बताए । विस्थापितहरु घर फर्कन नसक्ने अवस्था रहेकोले उक्त स्थानमा चुनाव समेत स्थगित गर्न उनीहरुले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले शान्ति सुरक्षाको वातावरण बनाएर मतदानको व्यवस्था गर्ने बताए ।
विस्थापितहरुले साविक मार्बू ७ को सिक्पाश्वरमा सीआरसी कन्ट्रक्सनको कर्मचारी मेसमा खाने र दिनभर जंगलमा बाहिराका गुण्डा राखेर रातभर मतदाता र उम्मेद्वारहरुको घरमा ढुङ्गा हान्ने गरेको बताए । एमाले पक्षले आफ्नो बा ७३प ३२५५ र बा५९प१६५६ नं. मोटरसाइकल रुपमा क्षति पु¥याएकोले क्षतिपूर्तीको दाबी समेत गरेका छन् । त्यस्तै अर्को समूह मार्बू छिर्ने ठाउँ टोपाटारमा समेत ढुकेर छेकथुन गर्ने गरेको बताएका छन् ।

यस अघि नेकपा एमालेको कार्यक्रम भइरहँदा मार्बूमा एमाले र माओवादी पक्ष बीच झडप समेत भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।