निर्वाचन आयोगबाट जुँगूको स्थलगत अनुगमण

 आवाज संवाददाता     २९ बैशाख २०७४, शुक्रबार

दोलखा, २९ बैशाख

एमाले र माओवादी बीचको झडपपछि निर्वाचन आयोगको उच्चस्तरीय टोलीले स्थलगत अनुगमण गरेको छ । आयोगका आयुक्त सुधिरकुमार शाहको संयोजकत्वमा बनेको आयोगको टोलीले घटनास्थल पुगेर स्थानीयसँग भेटघाट गरी सोधपुछ गरेको छ । टोलीमा आयोगकी आयुक्त इला शर्मा र आयोगका कर्मचारीहरु थिए । स्थलगत अनुगमणपछि जिल्लाका सुरक्षा प्रमुखहरु, राजनैतिक पार्टी र पत्रकारहरुसँग छलफल समेत गरेका छन् ।
घटनापछि आयोगका आयुक्त शाहले घटनापछि जुँगूमा एमाले पक्षको मात्र केही उपस्थिति भएको र अन्य पार्टीका नेता कार्यकर्ताहरुले गाउँ छाडेको बताए । घटनापछि स्थानीयमा त्रास बाँकी नै रहेको बताए । छलफलमा राजनैतिक दलहरुले गौरीशंकर गाउँपालिकामा गुण्डाहरुको कारण त्रास भएकाले गौरीशंकर गाउँपालिकाको निर्वाचन सार्न आग्रह गरेका छन् ।
निर्वाचन आयुक्त शाहले समयमा मतदाता परिचय पत्र नपाएकाहरुलाई मतदानकै दिन पनि मतपत्र दिने व्यवस्था गर्ने र मतदाता नामावलीमा नाम भएकाहरुलाई जुनसुकै परिचय पत्रका आधारमा पनि मतदान गर्न दिने विशेष व्यवस्था गर्न सक्ने जानकारी दिए । जुँगूका दुवै वडामा सर्वदलीय बैठक समेत बस्न सकेको छैन भने मतदाता परिचय पत्र समेत एक तिहाइ समेत वितरण हुन सकेको छैन ।
त्यस्तै जुँगू घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्चस्तरीय टोलीले समेत स्थलगत भ्रमण गरेका छन् ।

मंगलबार राती माओवादी र एमाले कार्यकर्ता बीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तमाङको ज्यान गएको थियो भने शिक्षक दिलबहादुर बुढाथोकी गम्भिर घाइते भएका छन् । घटनापछि एमाले पक्षले माओवादीका ३९ जना नेता र उम्मेद्वारहरुलाई किटानी जाहेरी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF