दोलखामा तनावबिच निर्वाचन सम्पन्न, प्रहरीको गोली लागी एकको मृत्यु

 आवाज संवाददाता     ३१ बैशाख २०७४, आईतवार

दोलखा, बैशाख ३१/२० वर्षपछि भएको स्थानीय निर्वाचन दोलखामा तनावपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ भने गोलीबाट १२ जना र दोहोरो झडपमा १० जना घाइते भएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटीस्थित सत्यश्वर मावि मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागी एकजनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट ३० वर्षीय डम्बर भुजेलको मृत्यु भएको हो ।
मतपेटिका जोगाउने क्रममा गोली चलाउँदा उनको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दिउँसो ३ बजेसम्म सौहार्दपूण मतदान भएकोमा केही व्यक्तिहरु आएर हुलहुज्जत गरेपछि भीड नियन्त्रणका लागि गोली चलाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए । उनले भने, ‘मतपेटिका तोडफोड र मतपत्र च्यातचुत पार्न लागेपछि गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ घटनापछि सो मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।
घटनामा अन्य ११ जनालाई पनि गोली लागेको छ । ती घाइतेहरुले भने प्रहरीले छानीछानी गोली चलाएको आरोप लगाएका छन् । दिउँसो करिब ३ बजे पानी परेपछि सबै मतदाताहरुभित्र छिरेको र प्रहरीले छानीछानी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई बाहिर निकालेको उनीहरुको आरोप छ । त्यसपछि भण्डै २ सय मतपत्रमा छाप लगाएर एकलौटी हाल्न खोजेपछि आफूहरुले मतपेटिका फालेको उनीहरुले स्वीकार गरेका छन् । तर मतपेटिका फालुञ्जेल केही नगरेका प्रहरीहरुले घटना साम्य भैसकेपछि एक्कासी सिठी फुकेर भाग भन्दै पछाडीबाट गोली हानेको उनीहरुले बताए ।
सो घटनामा गोली लागी घाइते भएका ११ जनालाई सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घाइतेहरु ११ जनामध्ये निर्मल कोइराला, प्रवीण बस्नेत, उद्धब बुढाथोकी र घलेन्द्र बुढाथोकीको अवस्था गम्भीर रहेको चरिकोट अस्पतालका डाक्टर विनोद दङ्गालले बताए । अन्य घाइतेहरुमा मोहनबहादुर बस्नेत, प्रकाश खत्री, रामशरण ठकुरी, रोशन भुजेल, गुणराज बस्नेत, भुवन थापा र नारायण बस्नेत छन् । सबैजसो घाइतेहरुलाई तिघ्रा र पिडुलामा गोली लागेको छ भने उद्धब बुढाथोकीलाई छाती र हातमा गोली लागेको छ । सो घटनामा मृत्यु हुने र घाइते हुने सबै नेपाली कांग्रेसका कार्यकर्ताहरु हुन् ।
यसैगरी आइतवार दिउँसो तामाकोशी गाउँपालिकाको सहरेमा भएको भडप नियन्त्रणका लागि प्रहरीको गोली लागी घाइते भएकी लीलामाया न्यौपानेलाई पनि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । विगु गाउँपालिकाको आलम्पुमा आइतवार नै भएको दोहोरो झडपमा परी घाइते भएकी मैया थामीलाई पनि उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । त्यस्तै वैतेश्वर गाउँपालिकाको क्षेत्रपामा भएको झडपमा घाइते भएका एमाओवादीका भीमबहादुर श्रेष्ठलाई पनि उपचारको लागि काठमाडौँ लगिएको छ ।
मतदानको क्रममा विभिन्न ठाउँमा भएको दोहोरो झडपमा अन्य ८ जना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यस क्रममा विहान तामाकोशी गाउँपालिकाको झुलेमा कांग्रेस र एमालेबीच भएको झडपमा ५ जना घाइते भएका छन् । त्यसैगरी तामाकोशी गाउँपालिकाकै जफेमा एमालेका दुईजना, वैतेश्वर गाउँपालिकाको गैरीमुदीमा एक जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
दोलखाका विभिन्न ठाउँमा भएको दोहोरो झडपलाई नियन्त्रण गर्न र मतपेटिका जोगाउने क्रममा करिब ५० राउण्ड गोली चलाउनुपरेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
दोलखाका बैतेश्वर र तामाकोशी गाउँपालिकामा निर्वाचन धाँधलीपूर्ण भएको र कांग्रेस–माओवादी गठबन्धनले बुथ कब्जा गरेको भन्दै निर्वाचन दोहो¥याउन माग गरेको छ । त्यसैगरी वैतेश्वर गाउँपालिकाको काब्रे र शैलुङ गाउँपालिकाको भुसाफेदामा एमालेले बुथ कव्जा गरेको भन्दै नेपाली कांग्रेसले पुनःनिर्वाचनको माग गरेको छ । भुसाफेदामा मतदानका लागि मतदाताहरु लाइन बसेकै अवस्थामा मतप्रक्रिया रोकेको स्थानीय कुमार अधिकारीले जानकारी दिए ।
विभिन्न घटनाका बीच भएको निर्वाचनमा दोलखामा ७० प्रतिशत मत खसेको संयुक्त निर्वाचन सेलले जानकारी दिएको छ ।
जिल्लाका मेलुङ, तामाकोशी, बैतेश्वर गाउँपालिका र जिरी तथा भीमेश्वर नगरपालिकाको मतपेटिका संकलन भैसकेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए । यीमध्ये जिरी नगरपालिकाको भने मतगणना आइतवार रातीबाटै सुरु हुने निर्वाचन अधिकृत दीपेन्द्र काफ्लेले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।