जिरी नगरपालिकामा एमाले र वैत्यश्वर गाउँपालिकामा काँग्रेस–माओवादी विजयी

 आवाज संवाददाता     ३ जेष्ठ २०७४, बुधबार

दोलखा, ३ जेठ
जिरी नगरपालिमामा नेकपा एमाले र वैत्यश्वर गाउँपालिकामा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी भएको छ । जिरी नगरपालिकामा ६ वटा वडा सहित मेयर र उपमेयरमा एमालेले जित हाँसिल गरेको छ ।
जिरी नगरपालिकाको मेयर टंक जिरेलले ३ हजार २१२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका गेल्बु शेर्पाले २ हजार १०६ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा एमालेकै कृष्णकुमारी बुढाथोकीले ३ हजार २६८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी चित्रमाया दाहालले १९ सय ४१ मत प्राप्त गरेकी छिन् । मेयरका विजयी जिरेल २ महिना अघि नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका थिए भने उपमेयर बुढाथोकी उम्मेद्वार दिनुभन्दा अघि माओवादी समर्थक थिइन् । जिरीको ९ वटा वडा मध्ये एमालेले ६ वटा वडा विजय प्राप्त गरेको छ भने २ वटामा माओवादी केन्द्र र एउटामा काँग्रेसले विजयी हाँसिल गरेको छ ।
त्यस्तै वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी गठबन्धनले फराकिलो मतान्तरले विजयी हाँसिल गरेको छ । गाउँपाललिका अध्यक्षमा नेपाली काँग्रेसका छवि लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका हुन् । अध्यक्ष लामाले ७ हजार १७९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ऋषिकेश उप्रेतीले ५ हजार ३९ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादीका रविचन्द्र आचार्यले ७ हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी शान्तिमा तमाङले ४ हजार ४४३ मत प्राप्त गरिन् ।
वैत्यश्वर गाउँपालिकाको ८ वटा वडा मध्ये ४ वटामा नेपाली काँग्रेस, ३ वटामा र एउटामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएका छन् । दोलखाको ३२ वटा वडाको नतिजा आउँदा नेपाली काँग्रेस ११ वटा, एमाले १२ वटा र नेकपा माओवादीले ९ वटा वडामा विजयी हाँसिल गरेका छन् । मेलुङ गाउँपालिकाको भने वडा नं. १ पवटीको पुनः मतदान गर्नु पर्ने भएकोले निर्वाचन भएको वडाको मतगणना भएको छैन ।

दाेलखाकाे मत परिणामका लागि अावाज अनलाइनकाे लाइभ अपडेट हेर्दै गर्नुहाेस् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF