रोल्वालिङ क्षेत्रमा मोबाइल सेवा सञ्चालन

 आवाज संवाददाता     ४ जेष्ठ २०७४, बिहीबार

दोलखा, ४ जेठ
सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको रोलल्वालिङ क्षेत्र (वेदिङ)मा नेपाल टेलिकमको मोबाइल टेलिफोन सेवा सुरु भएको छ । मोबाइल सेवा एक हप्ता अघि सञ्चालनमा आएको हो । स्थानीय निर्वाचनको अघिल्लो दिनबाट मोबाइल सेवा सञ्चालनमा आएपछि चुनावमा मोबाइल सेवाले झन खुशी थपेको हो ।
जिल्लाको सबैभन्दा विकट साविक गौरीशंकर गाविसको वडा नं १ वेदिङमा नेपाल टेलिकम दोलखाले नमस्ते मोबाइल टेलिफोन सेवा जडान गरेर सञ्चालनमा ल्याएको हो । गौरीशंकर हिमालको फेदीमा रहेको शेर्पा वस्तीमा मोबाइल सेवा जडान गर्नका लागि टावरको लागि आवश्यक सामान हेलिकप्टरबाट ढुवानी गरेको थियो । बेदिङमा मोवाइल सेवा सुरु भएपछि रोल्वालिङ क्षेत्र भ्रमणमा जाने सयौं पर्यटकहरु लाभान्वित हुने भएका छन् ।
२०७२ को विनासकारी भूकम्पअघि ७२ घरधुरी भएको वेदिङमा अहिले ८४ घरधुरी रहेको छ । वेदिङभरिका ८५ जना भन्दा बढी युवाहरुले सगरमाथाको सफल आरोहण गरी वेदिङलाई आरोहीहरुको गाउँ भनेर चिनाएका छन् । यसबाट वेदिङ अझै पर्यटकीय महत्वको क्षेत्र बनेको छ । वेदिङमा माेबाइल सुरू भएपिछ टेलिकम दाेलखाका प्रमुख श्याममणि अयार्लले एक थान माेबाइल सेट र ४ वटा सिम पनि  निशुल्क वितरणा गरे ।
सबैभन्दा छिटो सगरमाथा आरोहीको रुपमा कृतिमान कमाएका पेम्बादोर्जे शेर्पाले बेदिङमा मोबाइल सेवा चल्नु पर्यटन क्षेत्रको लागि अत्यन्तै खशीको खबर भएको प्रतिक्रिया दिए । ‘अहिले सञ्चार सम्पर्ककै अभावमा रोल्वालिङ क्षेत्रमा पर्यटकहरु घटेका छन्’ उनले भने ‘मोबाइल चलेमा पर्यटकहरु अहिलेभन्दा धेरै बढ्ने र होटल व्यवसाय फस्टाउने बताए ।’ मोबाइल सेवा चल्ने वित्तीकै ट्रेकिङको सामान बेदिङमा व्यवस्था गर्न लागेको बताए । १६ पटक सगरमाथा आरोहन गरिसकेका पेम्बा सञ्चार सुविधा भएपछि पर्यटकहरु बढाउँन आफूहरु पनि लागिपर्ने बताए ।
पर्यटकहरुको आकर्षणको केन्द्र भए पनि सञ्चारको साधन नहुँदा धेरै समस्या रहेको स्मरण गर्दै पासाङले मोबाइल सेवा भएपछि वेदिङमा अझ बढी पर्यटकहरु पुग्ने विश्वास व्यक्त गरे । साविक गौरीशंकर गाविस वडा नं १ का वडा अध्यक्ष नुर्वु शेर्पाले पनि मोबाइल सेवा सुरु भए पछि वेदिङको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ७२ वर्षका ङावासाङ्गे शेर्पाले ‘मोबाइल फोन चलाउन पाइने भइयो’ भनेर खुशी व्यक्त गरे ।
वेदिङमा पर्यटकहरु जाने मुख्य मौसम असोज–कात्तिक महिना हो । त्यो बेला वेदिङ उपत्यका पर्यटकहरुले भरिने साविक गौरीशंकर गाविसका सचिव खड्बहादुर आले बताउँछन् । वेदिङमा सञ्चार सुविधा भएपछि त्यहाँ पर्यटक अझ बढ्ने उनको पनि विश्वास छ । अहिले पनि वेदिङ गुम्बामा पूजापाठ गर्न दुई दर्जन बढी विदेशीहरु बसिरहेको सगरमाथा आरोही दावाछिरी शेर्पाले जानकारी दिए ।
वेदिङ गाउँ बहुचर्चित र जोखिमयुक्त च्छोरोल्पा हिमताल भन्दा तल पर्दछ । विष्फोटनको उच्च जोखिममा रहेको यो हिमताल विष्फोटन भएमा सूचना दिनका लागि अहिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले विभिन्न ठाउँमा साइरन राखेको छ । हिमताल विष्फोटनको सूचना प्रणालीलाई अझ विश्वासिलो र भरपर्दो बनाउन मोबाइल सेवा सुरु भएपछि एसएमएस प्रणाली पनि सुरु गरिने लक्ष्य रहेको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए । उनका अनुसार एसएमएस अलर्ट प्रणाली जडान गर्नका लागि युएनडीपीले उपकरण जडान गर्ने र नेपाल टेलिकमले सञ्चार सुविधा उपलव्ध गराउने सहमती भएको छ ।
युएनडिपीका कार्यक्रम संयोजक दिपक केसीले लामो समयको कसरतपछि वेदिङमा टेलिकमको सुरु गराउन सफल भएको बताए । युएनडिपीले च्छोरोल्पा हिमताल विश्फोटनको पूर्व सूचना प्रणालीको रुपमा महङ्गो शुल्कमा भिस्याट फोन प्रयोग गर्दै आएको छ । टेलिकमको मोबाइल सेवा सुचारु भएपछि भिस्याट भन्दा २० औं गुणा सस्तो पर्ने केसीले बताए ।
वेदिङमा मोबाइल सेवा सुरु गर्नका लागि वेदिङमा नेपाल टेलिकमले एक करोडको लगानीमा टावर निर्माण गर्न लागेको हो । यो टावर निर्माणका लागि सामान ढुवानीमा मात्रै करिब ३० लाख खर्च भएको नेपाल टेलिकम चरिकोट कार्यालय प्रमुख श्याममणि अर्यालले बताए । वेदिङमा स्याटेलाइट प्रविधिको टावर निर्माणपछि चरिकोट लगायतका ठाउँमा मोबाइल नेटवर्क नहुँदा पनि बेदिङमा मोबाइल फोन चल्ने नेपाल टेलिकमका अर्यालले जानकारी दिए ।
मोबाइल सेवा सुचारु हुने वित्तीकै च्छोरोल्पा हिमताल सहित रोल्वालिङ क्षेत्र पुग्ने सयौं पर्यटकहरु लाभान्वित हुनेछन् । अहिले गौरीशंकरको सिमिगाउँभन्दा केहीमाथि पुगेपछि सञ्चार सम्पर्क विच्छेद हुन्छ । बेदिङमा रहेको एउटा भिस्याट् फोन प्रयोग गर्नेले प्रतिमिनेन एक सय ५० सम्म तिर्नुपर्ने बाध्यता थियो ।
दोलखा जिल्लाको अर्को विकट लामाबगर गाविसको लप्ची बाहेक जिल्लाको सबै ठाउँमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम दोलखाले जनाएको छ । जिल्लामा टेलिफोन सुसञ्चालन गर्न १७ वटा टावरहरु निर्माण भैसकेका छन् । ५ वटा टावरहरु तत्कालै निर्माणको चरण रहेका छन् । टेलिकमले दोलखा जिल्लाबाट वार्षिक १ करोड २५ लाख रुपैयाँको कारोबार गर्दै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF